यमनमा यात्रुवाहक सवारीसाधनमाथि गोलाबारी हुँदा ६ जनाको मृत्यु, दर्जनौँ घाइते

यमनको दक्षिणी क्षेत्रमा यात्रुवाहक सवारीसाधनमाथि बमबारी हुँदा ६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । सोमवार दक्षिणी लहज प्रान्तको अल–मकातिराह जिल्लास्थित माबाक क्षेत्रमा यात्रुवाहक बस तथा मालवाहक ट्रकमाथि आक्रमण भएको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय अधिकारीका अनुसार मुख्य सडकमा गुडिरहेका यात्रुवाहक बस र मालवाहक ट्रकलाई लक्षित गरी गरिएको भारी गोलाबारीमा उनीहरूको मृत्यु भएको हो । घटनामा चारवटा सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य केहीमा क्षति पुगेको छ ।

आक्रमणको वास्तविक कारण भने खुल्न सकेको छैन । घटनाको जिम्मेवारीलाई लिएर यमनका द्वन्द्वरत पक्षहरूले एकअर्कामाथि आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा रहेका लहज प्रान्तका स्थानीय अधिकारीहरूले आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आरोप लगाएका छन् ।

उनीहरूले बालबालिका, सर्वसाधारण नागरिक र यातायातका साधनलाई लक्षित गर्नु युद्ध अपराध भएको भन्दै घटनाको निन्दा गरेका छन् । यता हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले साउदी अरेबियाका लडाकु विमानले सोमबार उक्त क्षेत्रमा आठवटा हवाई आक्रमण गरेको दाबी गरेका छन् ।

हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनमार्फत जारी वक्तव्यमा यात्रुवाहक बस र मालवाहक सवारीसाधनलाई लक्षित गरी आक्रमण गरिएको आरोप लगाइएको छ ।

प्रवक्ता सरियाले उक्त आक्रमणको जवाफ दिइने चेतावनीसमेत दिएका छन् । माबाक क्षेत्र यमनको सरकारी सेना र हुथी विद्रोहीबीचको सैन्य सम्पर्क क्षेत्रनजिक पर्दछ । पछिल्ला केही सातादेखि दुवै पक्षले उक्त क्षेत्र हुँदै यात्रुहरूलाई आवतजावत गर्न अनुमति दिँदै आएका थिए । यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ । त्यसबेला हुथी विद्रोहीले राजधानी सानासहित उत्तरी यमनका ठूलो भूभाग नियन्त्रणमा लिएपछि सन् २०१५ मा साउदी अरेबियाको नेतृत्वमा सैन्य हस्तक्षेप भएको थियो । त्यसयता अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी विद्रोहीबीचको संघर्ष जारी रहँदै आएको छ ।