चार लाख पाहुनाको चर्चा, ३ हजार बाउन्सर र ५०० प्रहरीको सुरक्षा घेरा; अनन्त सिंहकी छोरी शिवांगीको आज विवाह

नदवाँमा भव्य समारोह, १५१ गाडीको जन्ती, घोडदौडदेखि हेलिप्याडसम्मको व्यवस्था; सामाजिक सञ्जालमा ‘छोटे सरकार’को विवाह चर्चाको केन्द्रमा

सञ्जय मिश्रा

रौतहट  ९ मंसिर ।  बिहारका चर्चित विधायक तथा ‘छोटे सरकार’ उपनामले परिचित अनन्त सिंहकी कान्छी छोरी शिवाङ्गी सिंहको विवाह आज (२५ नोभेम्बर) भव्य समारोहबीच हुँदैछ। पटना जिल्लास्थित विधायक सिंहको पुर्ख्यौली गाउँ नदवाँमा हुन लागेको विवाहलाई लिएर यतिबेला भारतीय सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म व्यापक चर्चा भइरहेको छ।

शिवाङ्गीको विवाह सीआरपीएफ कमान्डेन्ट रणविजय कुमारका छोरा ऋषिकेश कुमार (अंकित) सँग हुन लागेको हो। विवाहपूर्वका मेहन्दी, तिलक तथा अन्य समारोहका तस्बिर र भिडियो सार्वजनिक भएसँगै विवाहको भव्यता चर्चामा आएको छ।

विवाह समारोहमा करिब चार लाख पाहुना सहभागी हुने अनुमान गरिएको छ। ठूलो संख्यामा पाहुना आउने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा, यातायात, खानपान तथा स्वागतका लागि व्यापक तयारी गरिएको बताइएको छ।

३ हजार बाउन्सर, ५०० प्रहरीको सुरक्षा

समारोहलाई व्यवस्थित बनाउन करिब तीन हजार निजी बाउन्सर र पाँच सय प्रहरी परिचालन गर्ने तयारी गरिएको विवरण सार्वजनिक भएका छन्। विवाहस्थललाई तीन तहको सुरक्षा घेरामा राखिने र कार्यक्रमस्थलभन्दा करिब दुई किलोमिटर अगाडिदेखि नै सुरक्षा निगरानी गरिने बताइएको छ। भीड व्यवस्थापनका लागि पाहुना तथा सवारीसाधनको आवागमन अलग-अलग मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। विशिष्ट पाहुनाहरूको आगमनलाई ध्यानमा राख्दै हेलिप्याडसमेत निर्माण गरिएको छ।

१००० फिटको भान्सा, लाखौँ गुलाबजामुनको तयारी

विवाहमा आउने पाहुनाको खानपानका लागि विशेष व्यवस्था गरिएको छ। करिब १०० फिट लामो अस्थायी भान्सा निर्माण गरिएको र ठूलो परिमाणमा मिठाई तथा विभिन्न परिकार तयार पारिएको बताइएको छ।

images

भोजका लागि बिहान १० बजेदेखि व्यवस्था सुरु हुने र करिब चार लाख पाहुनालाई भोजन गराउने लक्ष्य राखिएको छ। दूध ढुवानीका लागि ठूलो क्षमताका ट्याङ्कर प्रयोग गरिएको तथा खानपान व्यवस्थापनका लागि थप ठूला टेन्टहरू निर्माण गरिएको विवरण सार्वजनिक भएका छन्।

images

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा विशाल भाँडामा तयार पारिएका गुलाबजामुन, विवाहस्थलको आकर्षक सजावट र पाहुनाको स्वागतका लागि गरिएको तयारी देख्न सकिन्छ।

घोडदौड, १५१ गाडीको जन्ती र राति जयमाला

images

विवाह समारोहअन्तर्गत दिउँसो २ बजे घोडदौड प्रतियोगिता आयोजना गर्ने कार्यक्रम रहेको छ। प्रतियोगिताका विजेतालाई महिन्द्रा थार गाडी पुरस्कार दिने चर्चा पनि भइरहेको छ।

राति १५१ वटा गाडीको काफिलासहित जन्ती नदवाँ पुग्ने कार्यक्रम रहेको बताइएको छ। राति ९ बजे जयमाला समारोह र त्यसपछि वैदिक परम्पराअनुसार विवाह सम्पन्न गरिने तयारी छ। पाहुनाको बसोबास तथा स्वागतका लागि पनि विशेष प्रबन्ध गरिएको छ।

अमेरिकामा ११ वर्षदेखि बस्दै आएका छन् बेहुला

बेहुला ऋषिकेश कुमार पटनाको बिहटा क्षेत्रका बासिन्दा हुन्। उनले अमेरिकाको एटलान्टास्थित जर्जिया स्टेट युनिभर्सिटीबाट एमबीए गरेका छन्। उनी करिब ११ वर्षदेखि अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको छ। बेहुली शिवाङ्गीले नोएडास्थित विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्।

Nepal life insurance

यसअघि सम्पन्न तिलक समारोहमा अनन्त सिंहले हुनेवाला ज्वाइँलाई करिब साढे तीन करोड भारतीय रुपैयाँ मूल्यको ल्यान्ड रोभर डिफेन्डर गाडी उपहार दिएको खबरसमेत चर्चामा आएको थियो।

सामाजिक सञ्जालमा विवाहको भव्यताको चर्चा

विवाहपूर्वका समारोहका भिडियो र तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अनन्त सिंहको परिवारको विवाहलाई लिएर विभिन्न प्रतिक्रिया, टिप्पणी र मिमहरू सार्वजनिक भइरहेका छन्।

राजनीतिक प्रभाव, ठूलो पाहुना संख्या, सुरक्षा व्यवस्था र महँगो उपहारका कारण शिवाङ्गीको विवाह सामान्य पारिवारिक समारोहभन्दा निकै फरक र चर्चित बनेको छ। ‘छोटे सरकार’का नामले परिचित अनन्त सिंहको यो पारिवारिक समारोह अहिले बिहारमा चर्चाको विषय बनेको छ।