आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । 

१- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित कुल १९ पदक जितेको छ । दोस्रो स्थानमा रहेको एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कांस्य गरी ९ पदक जितेको छ भने नेपाल पुलिस क्लब ३ स्वर्ण, ७ रजत र ८ कांस्यसहित कुल १८ पदक जितेर तेस्रो स्थानमा छ । त्यस्तै, नेपाली सेनाले २ स्वर्ण, ८ रजत र ८ कांस्य गरी १८ पदक जित्दै चौथो स्थान हासिल गरेको छ । सुदूरपश्चिम प्रदेश १ स्वर्ण, २ रजतसहित ३ पदक जितेर पाँचौँ स्थानमा रहँदा कोशी प्रदेशले १ स्वर्ण जित्दै छैटौँ स्थान बनाएको छ । दोस्रो दिनको पदक तालिकामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी, कर्णाली, लुम्बिनी र मधेस प्रदेशले पदक जित्न सकेका छैनन् ।

२- सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार, न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो । सरकारले गत कात्तिक २८ गते केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो। आइजीपी कार्कीलाई भने सरकारले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । आदेशमा भनिएको छ- ‘यसमा निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, प्रत्यर्थीमध्येका डा. मनोजकुमार के.सी. नेपाल सरकारको मिति २०६३।०७।१८ को निर्णयानुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझी सो पदको कार्यभार सम्हालीसकेको भन्ने मिसिलबाट देखिएको, निवेदकले अन्तरिम आदेशको माग गरेको प्रस्तुत विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएको र रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानूनी प्रश्नहरुको रिट निवेदनको अन्तिम सुनुवाई हुँदा निरुपण र सम्बोधन हुने प्रकृतिको देखिंदा सुबिधा सन्तुलनको दृष्टिसमेतबाट निवेदन माग बमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन ।’

३- लामो समयदेखि बन्द रहेको देशको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउन निर्णायक पहल सुरु भएको छ । मिललाई आधुनिक स्वरूपमा सञ्चालन गर्ने उद्देश्यले विराटनगर जुट मिल लिमिटेडले रणनीतिक लगानीकर्ताका लागि आशयपत्र आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा सार्वजनिक–निजी साझेदारी मोडलमार्फत मिल सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको हो । मंसिर ९ गते जारी सूचनाअनुसार इच्छुक स्वदेशी तथा विदेशी लगानीकर्ताले ३५ दिनभित्र आशयपत्र पेस गर्नुपर्नेछ । योजना अनुसार मिल पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने र पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखिएको छ । विराटनगर र दमकमा रहेको मिलको ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारी अवधारणामा उपलब्ध गराइनेछ । साथै, नयाँ लगानीकर्तालाई मिलका पुराना ऋण तथा वित्तीय, प्रशासनिक र श्रमसम्बन्धी दायित्वको भार नपर्ने व्यवस्था गरिएको छ । लगानीकर्ताले औद्योगिक व्यवसाय ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनअनुसार मेसिनरी आयातमा भन्सार सहुलियत, लाभांश फिर्ता लैजाने सुविधा तथा सुरुवाती वर्षमा लिज भाडामा सहुलियत पाउनेछन् । सन् १९३६ अर्थात् वि.सं. १९९३ मा स्थापना भएको विराटनगर जुट मिल राजनीतिक अस्थिरता र व्यवस्थापकीय कमजोरीका कारण पटक–पटक बन्द हुँदै आएको थियो । आशयपत्र पेस गर्ने म्याद सकिएको एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्रमा हस्ताक्षर गर्ने र सञ्चालन प्रक्रिया अघि बढाउने योजना रहेको छ ।

४- इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय फुटबलर रहिम स्टर्लिङलाई गाडी दुर्घटनाको घटनमा १२ महिनाको निलम्बित जेल सजाय सुनाइएको छ । अदालतले दिएको १२ महिनाको जेल सजाय १८ महिनाका लागि निलम्बन गरेको छ । बुधबार बेलायतको बेसिङस्टोक मजिस्ट्रेट अदालतले ३१ वर्षीय स्टर्लिङलाई दुई वर्षसम्म गाडी चलाउन प्रतिबन्ध लगाउनुका साथै १०० घण्टा निःशुल्क सामाजिक सेवा गर्न आदेश दिएको हो । १८ महिनामा अदालतको आदेश पालन गरेमा र अन्य अपराध नगरेमा उनले जेल बस्नु भने पर्ने छैन । स्टर्लिङले गत मे २८ मा आफ्नो ल्याम्बोर्गिनी गाडी बेलायतका एम२५ र एम३ राजमार्गसहित विभिन्न सडकमा खतरनाक तरिकाले चलाएका थिए । उनले गाडी चलाउने क्रममा नाइट्रस अक्साइड अर्थात् लाफिङ ग्यास भरिएको बेलुनबाट ग्यास सेवन गरेको प्रत्यक्षदर्शीले बताएका थिए । अदालतमा प्रस्तुत गरिएको सवारीसाधनको दृश्यमा उनको गाडी पटकपटक लेन परिवर्तन गर्दै अनियन्त्रित रूपमा गुडेको र सडकको बीचमा रहेको अवरोधसँग ठोक्किनबाट मुस्किलले जोगिएको देखिएको थियो । अन्ततः गाडी सडकछेउको संरचनामा ठोक्किएको थियो । घटनामा अन्य कुनै सवारीसाधन संलग्न थिएनन् र मानवीय क्षति पनि भएको थिएन । स्टर्लिङले खतरनाक तरिकाले गाडी चलाएको, नाइट्रस अक्साइड राखेको र प्रहरीलाई परीक्षणका लागि रगतको नमुना दिन अस्वीकार गरेको तीनवटै आरोप स्वीकार गरेका थिए । उनको गाडीबाट नाइट्रस अक्साइडका ६ वटा सिलिन्डरसमेत भेटिएका थिए । स्टर्लिङले इंग्ल्यान्डका लागि ८२ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र आर्सनलबाट व्यावसायिक फुटबल खेलेका थिए । म्यानचेस्टर सिटीबाट उनले चार पटक प्रिमियर लिगको उपाधिसमेत जितेका छन् । पछिल्लो समय नेदरल्यान्ड्सको फेयेनोर्डबाट खेलेका उनी हाल क्लबविहीन छन् ।

५-  काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्रको भवन निर्माण सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार वडा नम्बर २९ मा अभिभावक, बालबालिका तथा जनप्रतिनिधिको उपस्थितिमा भवनको शिलान्यास गरेकी हुन् । ९ करोड ७७ लाख ४५ हजार रुपैयाँमा निर्माण सम्झौता भएको भवन पाँचतले हुनेछ। १८ हजार ५०० वर्गफिट क्षेत्रफलमा बन्ने भवनमा तालिम तथा प्रशिक्षण कक्ष, प्रशासन र अनुसन्धान कक्षलगायत संरचना रहनेछन् । महानगरपालिकाका अनुसार भवन निर्माण २०८४ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य छ । शिलान्यास कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले अटिजम भएका बालबालिकालाई समान अवसर र गुणस्तरीय शिक्षा प्रदान गर्न महानगरपालिकाले विशेष कार्यक्रम अघि बढाएको बताइन् । भवन निर्माण सम्पन्न हुँदासम्म विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि तयार गरिने उनको भनाइ छ । भवनबाट अटिजम भएका बालबालिकाको सीप तथा ज्ञान अभिवृद्धि, तालिम, अध्ययन अनुसन्धान र अभिभावकलाई आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्य महानगरपालिकाले लिएको छ ।

६- निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरेको छ । आयोगले गत असोजमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति, संशोधित विधान तथा राजनीतिक दस्तावेजलाई औपचारिक रूपमा अद्यावधिक गरेको हो । आयोगको मंगलबार बसेको बैठकले कांग्रेसले पेस गरेका कागजात र महाधिवेशनका निर्णय अध्ययन गरी अद्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । यससँगै गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगको अभिलेखमा नयाँ कार्यसमिति र संशोधित विधानसहित अद्यावधिक भएको छ ।

७-  नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशतमा आएको हो । सरकारले चालु आर्थिक वर्षमा विद्युत् चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । प्रधानमन्त्री कार्यालयले उक्त लक्ष्य पूरा गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । निर्धारित लक्ष्यभन्दा पनि कम चुहावट भएपछि सरकारले विद्युत् चुहावट नियन्त्रणमा प्रगति गरेको देखिएको छ । प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा कमजोरी तथा विद्युत् व्यवस्थापनका कारण चुहावट हुने गरेको छ। पछिल्लो समय प्राविधिक समस्या देखिनेबित्तिकै तत्काल समाधान गर्ने प्रणाली विकास गरिएकाले पनि चुहावट नियन्त्रणमा सहयोग पुगेको छ । विद्युत् सञ्जालको स्तरोन्नति, समयमै मर्मतसम्भार र प्राविधिक पक्षमा सुधारलाई तीव्रता दिँदै चुहावट नियन्त्रणको काम अघि बढाइएको प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय तथ्यांकअनुसार दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३.८ प्रतिशत रहेको छ ।

८- नेपाल क्रिकेट संघ (क्यान) ले भुटानमा आयोजना हुने गेलेफु टी–२० च्याम्पियनसिप २०२६ का लागि नेपालको ‘ए’ टोली घोषणा गरेको छ । प्रतियोगितामा सन्तोष यादवले नेपाली टोलीको कप्तानी गर्ने भएका छन् । क्यानले सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा कप्तान सन्तोष यादवसँगै विवेक यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्ती मगर, दीपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल र इमरान शेख रहेका छन् । गेलेफु टी–२० च्याम्पियनसिप आगामी डिसेम्बर ४ देखि १३ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल ए सहित भुटान, बहराइन र थाइल्याण्डले भाग लिदैछन् ।

images

९- सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् । बुधबार, गोरखाको गण्डकी गाउँपालिका–८, सिउरेनीटारमा स्थायी कार्यालय भवन, आवास भवन र पक्की पुलको सभामुख अर्यालले शिलान्यास गरेका हुन् ।  शिलान्यास भएसँगै आयोजनाको मुख्य भौतिक निर्माण कार्य सन् २०२८ जनवरीदेखि सुरु गर्ने बताइएको छ । गोरखा र धादिङमा फैलिने यस  १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत भइसके पनि विद्युत् उत्पादनको अनुमतिपत्र भने अझै लिइएको छैन ।

१०- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर ६ अर्ब १४  करोड ६० लाख ४३ हजार ९०९ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी मुक्तिनाथ कृषि कम्पनिको शेयर १०.९८ प्रतिशतले बढेको छ भने हिमालय उर्जा विकास कम्पनिको शेयर ८.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उन्नति सहकार्य लघुवित्तको शेयर ३.३० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालय उर्जा विकास कम्पनिको ३४ करोड ७४ लाख बराबरको कारोबार भएको छ भने कुमारी बैंकको २२ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

images

११- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको क्षमता अभिवृद्धि र पुँजी संरचनामा सुधार गर्न ऐन संशोधन विधेयक ल्याइएको बताएका छन् । बुधबार, अर्थ समितिको बैठकमा उनले नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउँदै कोषको पुँजी ८ अर्बबाट १० अर्ब रुपैयाँ पुर्‍याउने र चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको जानकारी दिए । विधेयकमा निजी इक्विटी, भेन्चर क्यापिटल, पूर्वाधार, उत्पादनमूलक तथा आवास क्षेत्रमा लगानी विस्तार गर्ने प्रस्तावसमेत समेटिएको छ । त्यस्तै, कोषको कार्यक्षेत्र विस्तार, सञ्चालक समितिको पुनर्संरचना, वित्तीय उपकरणको विविधीकरण र लेखा प्रणालीको आधुनिकीकरण गर्ने व्यवस्था गरिएको अर्थमन्त्री वाग्लेले बताए । उनका अनुसार संशोधनपछि कोषको संस्थागत तथा वित्तीय क्षमता बढ्नुका साथै राष्ट्रिय प्राथमिकताका पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्न सहज हुनेछ ।

images

१२- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापारमा ३३.३३ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । यस वर्ष कुल वैदेशिक व्यापारमा २ खर्ब ३४ अर्ब २९ करोड रुपैयाँले वृद्धि भएको देखिएको छ । समीक्षा अवधिमा वस्तु आयात ३१.७७ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात भएको थियो । त्यस्तै, वस्तु निर्यातमा भने आयातको तुलनामा बढी वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा निर्यात ४३.४८ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ९३ अर्ब ४९ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । निर्यातमा उल्लेख्य वृद्धि भए पनि नेपालको व्यापार घाटा भने घट्न सकेको छैन । समीक्षा अवधिमा व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो । तथ्यांकअनुसार नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा झरेको छ । यसैगरी निर्यातको हिस्सा १३.३० प्रतिशतबाट बढेर १४.३१ प्रतिशत पुगेको छ । आयात र निर्यातको अनुपातसमेत गत वर्षको ६.५२ बाट घटेर ५.९९ मा झरेको छ । यसको अर्थ गत वर्षको तुलनामा यस वर्ष निर्यातको वृद्धि आयातभन्दा बढी रहे पनि निर्यातको तुलनामा आयातको आकार ठूलो भएको छ ।

१३-  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सनका लागि सार्वजनिक प्रारम्भिक दर्ता सूचीमा नेपालका १० खेलाडी परेका छन् ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार अक्सनका लागि कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् । जसमा भारतका ९३९ र अन्य १७ देशका २८१ खेलाडी रहेका छन् । एसोसियट्स राष्ट्रका खेलाडीमध्ये अमेरिकाबाट सबैभन्दा बढी १३ जनाले नाम दर्ता गराएका छन् । नेपाल र संयुक्त अरब इमिरेट्सबाट १०–१० खेलाडी दर्ता भएका छन् । त्यस्तै, नेदरल्यान्ड्सबाट तीन, क्यानडा, जापान र स्कटल्यान्डबाट दुई–दुई खेलाडीले नाम दर्ता गराएका छन् । अक्सनका लागि दर्ता भएका कुल खेलाडीमध्ये १८४ जना अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडी, ९९४ जना अनक्याप्ड खेलाडी र ४२ जना एसोसियट्स राष्ट्रका खेलाडी रहेका छन् ।  अक्सन सूचीमा अस्ट्रेलियाबाट सबैभन्दा बढी ५३ खेलाडी दर्ता भएका छन् । दक्षिण अफ्रिकाबाट ४०, वेस्ट इन्डिजबाट ३६, न्युजिल्यान्डबाट २५, अफगानिस्तानबाट २३, श्रीलङ्काबाट २१ र इङ्ल्यान्डबाट १६ खेलाडी दर्ता भएका छन् । अब फ्रेन्चाइजीहरूले प्रारम्भिक सूचीमा रहेका खेलाडीमध्ये आफूले लिलामीमा समावेश गर्न चाहेका खेलाडीको नाम आयोजकलाई बुझाउनेछन् । त्यसपछि डिसेम्बर ४, २०२६ मा अन्तिम लिलामी सूची र खेलाडीहरूको समूह सार्वजनिक गरिने बोर्डले जनाएको छ । यसपटक अक्सनअघि विभिन्न टोलीले १८४ खेलाडीलाई आफ्नो टोलीमा कायम राखिसकेका वा छनोट गरिसकेका छन् । अब अधिकतम ६६ खेलाडीका लागि स्थान खाली रहेको छ । तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि छुट्याइएको छ । गतबर्षको आइपिएल अक्सनको प्रारम्भिक सूचीमा पनि नेपाली खेलाडी भएपनि अन्तिम सूचीमा भने कुनै खेलाडी परेका थिएनन् ।

१४- विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कका दुई कम्पनी स्पेसएक्स र टेस्लाबीच गाभिने विषयमा छलफल भइरहेको छ । फाइनान्सियल टाइम्सको समाचारअनुसार दुवै कम्पनीबीच करिब ३२ खर्ब अमेरिकी डलर मूल्यको कारोबार हुन सक्नेछ। यो सम्झौता भएमा इतिहासकै ठूलो कम्पनी गाभिने प्रक्रिया बन्नेछ । सम्झौताबारे छलफल गर्न दुवै कम्पनीले पाँच जना सञ्चालक र तीन ठूला लगानी बैंकसहित विशेष समिति गठन गरेका छन् । मोर्गन स्टान्ली र गोल्डम्यान स्याक्सले स्पेसएक्सलाई तथा एभरकोरले टेस्लालाई वित्तीय परामर्श दिइरहेका छन् । प्रस्तावित सम्झौता नगदको सट्टा सेयर आदानप्रदानमा आधारित हुने र डिसेम्बरमा घोषणा हुन सक्ने समाचारमा उल्लेख छ । हाल स्पेसएक्सको बजार मूल्य करिब १७ खर्ब डलर र टेस्लाको १५ खर्ब डलर रहेको छ । दुवै कम्पनी गाभिएमा बन्ने नयाँ कम्पनीको मूल्य ३२ खर्ब डलर पुग्ने अनुमान छ । यसले नयाँ कम्पनीलाई विश्वका पाँच ठूला मूल्यवान् कम्पनीको सूचीमा पुर्‍याउन सक्छ । मस्कले सन् २०२६ को सुरुवातमै दुवै कम्पनी गाभ्ने प्रस्ताव अघि सारेका थिए । स्वार्थको द्वन्द्व हुन नदिन आफू छलफल प्रक्रियाबाट अलग रहेको उनले बताएका छन् । लगानी बैंक जेपी मोर्गनका अनुसार टेस्लासँग गाभिएपछि स्पेसएक्सलाई अमेरिकी प्रमुख सेयर बजार सूचक एसएन्डपी ५०० मा समावेश हुन सहज हुन सक्छ । तर, सम्झौता र यसको मूल्यबारे दुवै कम्पनीबाट अन्तिम निर्णय सार्वजनिक भइसकेको छैन ।

Nepal life insurance

१५- नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न ग्यास उद्योगहरूलाई आयात, भण्डारण र बजार वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा हवाई इन्धन विभागले पत्र जारी गर्दै बजारको मागअनुसार ग्यास आयात बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गर्न र भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाउन निर्देशन दिएको हो । त्यस्तै, बजारमा रहेका सिलिन्डर पूर्ण क्षमतामा भरी विक्रेतामार्फत उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि निगमले भनेको छ । आयात, भण्डारण र वितरणबीच समन्वय गरी आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन निगमले उद्योगहरूलाई आग्रह गरेको छ । निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ । कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमा संलग्न नहुनसमेत उपभोक्तालाई सचेत गराइएको छ ।

१६- नेपाली सेना र भारतीय सेनाबीच हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ । मध्यपश्चिम पृतनाका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले मंगलबार अभ्यासको शुभारम्भ गरेका हुन्। मंसिर २२ गतेसम्म सञ्चालन हुने अभ्यासमा दुवै देशका गणस्तरका सैनिक सहभागी छन् । अभ्यासका क्रममा विपद् व्यवस्थापन, जङ्गल युद्धकला र मानवीय सहयोगलगायतका विषयमा सैनिकहरूले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गर्नेछन् । सन् २०१० देखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको यो अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो । अभ्यासले दुई देशका सेनाबीचको सम्बन्ध, आपसी समझदारी र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

१७- प्रधानमन्त्री बालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातका अवसरमा सन्देश जारी गर्दै उनले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताएका छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै उनले डिजिटल माध्यमबाट हुने हिंसालाई पनि चुनौतीका रूपमा औँल्याएका छन् । प्रधानमन्त्री शाहले हिंसा रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्न कानुनको प्रभावकारी कार्यान्वयन तथा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् । विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ सुरु भएको हो ।

१८- मिस युनिभर्सको ७५औँ संस्करणको उपाधि प्युर्टो रिकोकी जेनिफर बारेटोले जितेकी छन् । प्युर्टो रिकोको राजधानी सान हुआनमा आयोजित प्रतियोगितामा ११६ देश तथा क्षेत्रका सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । डोमिनिकन गणतन्त्रकी मेलिसा नुनेज फर्स्ट रनरअप बनिन् भने भेनेजुएलाकी क्लारा भेगास गोएट्ज सेकेन्ड रनरअप र फिलिपिन्सकी बी मिलान-विन्डोर्स्की थर्ड रनरअप घोषित भइन् । विजेताका लागि १८ क्यारेट सेतो सुनबाट बनेको र ३ हजार १५० वटा हिरा जडित विशेष मुकुट तयार गरिएको थियो । प्रतियोगिताको ७५औँ वर्षगाँठका अवसरमा उक्त मुकुट बनाइएको हो । यस वर्षको प्रतियोगिता विभिन्न विवादमा पनि परेको थियो । भियतनामकी विजेताबाट उपाधि फिर्ता लिइएको थियो भने फ्रेन्चाइज विवादका कारण दक्षिणपूर्वी एसियाका छ देशका प्रतिस्पर्धीले अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउन पाएनन् । केही अफ्रिकी देशका प्रतिस्पर्धीले अमेरिकी प्रवेशाज्ञा नपाएपछि नाम फिर्ता लिएका थिए ।

१९-  पाकिस्तानका पहिलो अन्तरिक्षयात्री मोहम्मद जीशान अली बुधबार चीनको सहयोगमा अन्तरिक्ष प्रस्थान गरेका छन् । उनी चीनको ‘शेन्झाउ–२४’ अभियानमार्फत अन्तरिक्षमा पुगेका हुन् । उनी चीनको तियानगोंग अन्तरिक्ष केन्द्रमा पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्री बनेका छन् । जीशानसँगै चीनका दुई अन्तरिक्षयात्री ताङ होङ्बो र उ यी पनि अन्तरिक्षमा गएका छन् । अभियानको नेतृत्व ताङले गरेका छन् भने जीशानले पाकिस्तानले छनोट गरेका चार वैज्ञानिक प्रयोग पूरा गर्नेछन्। उनी करिब एक साता अन्तरिक्ष केन्द्रमा रहनेछन् । चीनले जीशानका लागि हलाल खानाको व्यवस्था पनि गरेको छ । पाकिस्तानले यस अभियानका लागि जीशान र खुर्रम दाउदलाई छनोट गरेको थियो । चीनमा लामो समयसम्म तालिम लिएपछि जीशान अन्तिम छनोटमा परेका थिए भने खुर्रम वैकल्पिक अन्तरिक्षयात्री बनेका थिए । पाकिस्तानी वायुसेनाका लडाकु विमान चालक जीशानले अन्तरिक्ष यात्राका लागि चिनियाँ भाषा, शून्य गुरुत्वाकर्षणमा काम गर्ने तरिका तथा आपत्कालीन अवस्थासँग जुध्ने तालिम लिएका थिए । पाकिस्तानसँग आफ्नै मानवसहित अन्तरिक्षमा पठाउने रकेट तथा यान नभएकाले उसले चीनको सहयोग लिएको हो । यसैबीच, पाकिस्तान र चीनले सन् २०२८ तिर चीनको छाङअ–८ अभियानमार्फत पाकिस्तानी रोभर चन्द्रमाको सतहमा पठाउने योजना पनि बनाएका छन् ।

२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिप निर्माता कम्पनी एनभिडियाको सेयरबाट १ करोड ५० लाख अमेरिकी डलरसम्म नाफा कमाएको दाबी गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ पुनः पदमा फर्किएपछि एनभिडियाको सेयर मूल्य ३१.५ प्रतिशत बढ्दा ट्रम्पलाई फाइदा पुगेको विवरणमा उल्लेख छ । एनभिडियाको सञ्चालक समितिले नोभेम्बर १२ मा पदबाट हटाएका हुआङलाई ११ दिनपछि पुनः अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ट्रम्पले कम्पनीको सञ्चालक समितिसँग आफूले कुरा गरेर हुआङलाई पुनः पदमा फर्काउन सहमत गराएको दाबी गरेका छन् । उनले नोभेम्बर २२ मा सामाजिक सञ्जालमार्फत पनि हुआङलाई पुनः नियुक्त गर्न आग्रह गरेका थिए । हुआङको पुनरागमनको खबरपछि एनभिडियाको सेयर मूल्य प्रतिकित्ता १६५.०५ डलर पुगेको थियो । यससँगै कम्पनीको बजार मूल्य करिब ९५० अर्ब डलरले बढेको थियो । ‘फाइनान्सियल टाइम्स’का अनुसार ट्रम्पसँग एनभिडियाका ३ लाख ७० हजार कित्तासम्म सेयर हुन सक्ने अनुमान छ । यसअघि बीबीसीले उनले २ करोड ३० लाखदेखि ८ करोड ६० लाख डलरसम्मका सेयर खरिद गरेको जनाएको थियो । ट्रम्पको हस्तक्षेप र सेयर कारोबारलाई लिएर अमेरिकामा प्रश्न उठेको छ । एरिजोनाका डेमोक्रेटिक सिनेटर रुबेन गालिगोले हुआङको पुनरागमनसम्बन्धी घोषणा हुनुअघि सेयर बजारमा भएका कारोबारको अनुसन्धान गर्नुपर्ने बताएका छन् । हुआङ पुनः पदमा फर्किए पनि एनभिडियाका चिप चीनको सेनासम्म पुगेको आशङ्का र चीनको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तारमा तिनको भूमिकाबारे अमेरिकी संसद्को अनुसन्धान जारी रहने भएको छ । हुआङ र कम्पनीका कानुनी सल्लाहकार टिम टेटर डिसेम्बर १, २ र ३ मा संसदीय समितिसमक्ष उपस्थित हुने जनाइएको छ । हुआङको पुनरागमनको प्रभाव एसिया–प्रशान्त क्षेत्रका सेयर बजारमा पनि देखिएको छ। ताइवानको टीडब्लू५० सूचक ९.५ प्रतिशत, दक्षिण कोरियाको कोस्पी ६.५ प्रतिशत र जापानको निक्केई सूचक करिब ४ प्रतिशत बढेको विवरणमा उल्लेख छ । कृत्रिम बुद्धिमत्ता क्षेत्रमा लगानी र बजारको उतारचढावबीच अमेरिकी केन्द्रीय बैंकले डिसेम्बरमा ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउन सक्ने अनुमानसमेत गरिएको छ ।