आजको मौसमः कोशी प्रदेशकाे हिमाली भेगमा हल्का वर्षा/हिमपात हुने

काठमाडौं, ११ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । उपत्यका र खोँचहरूका साथै तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशको पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र तथा गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।