इलाममा एक हप्तादेखि विद्युत अवरुद्ध, अझै तीन हप्ता बिद्युत नआउने /प्राधिकरणलाई १५ लाख घाटा

इलाम सदरमुकामको तिल्केनी स्थित सवस्टेसनमा रहेको विद्युत ट्रान्सर्फमरमा आएको खराबीले एकहप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । ट्रान्सर्फमरको तेल रेगुलेसन भ्यालु कम भएको र क्वाइलमा क्षति पुगेकाले बिद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जनाएको छ । मर्मतका लागि पहल जारी रहेपनि अझै २२ दिनसम्म विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणका शाखा प्रमुख राजीवकुमार शर्माले जानकारी दिनुभयो ।
बिद्युत नहुँदा इलामबाट प्रकाशित हुने तीनवटा दैनिक पत्रिकाको प्रकाशन बन्द भएको छ भने एफएम रेडियोको प्रशारण समय विहान र बेलुका तीन तीन घण्टामा सिमित भएको छ । साथै सरकारि र गैरसरकारि कार्यालयको कामकाजसमेत ठप्प छ ।
विद्युत सेवा सुचारु गर्न हेटौडाबाट ल्याएको डेढ केभिएको ट्रान्सर्फमर जडानका क्रममा पड्कीएपछि विद्युत सेवा अझै अनिश्चित भएको हो । प्राधिकरणले फेरि झापाको दमकबाट ६ देखि ८ केभिए सम्मको ट्रान्सर्फमर ल्याउने तयारि गरेको छ । सो ट्रान्सर्फमर ल्याउन एक हप्ता लाग्ने प्राधिकरणले जनाएको छ । छिटो भन्दा छिटो समस्या समाधान गरी विद्युत सुचारु गर्न आफूहरु क्रियाशिल भएपनि काम गर्न कठिनाई भईरहेको शाखाप्रमखु शर्माले बताउनुभयो ।
यता प्रमुख जिल्ला अधिकारि बाबुराम खतिवडाले आफूलाई प्राबिधिक ज्ञान त्यति थाहा नभएपनि चाँडो भन्दा चाँडो बिद्युत सेवा सुचारु गर्न प्राधिकरणलाई निर्देशन दिएको बताउनुभयो ।
विद्युतीय सेवा ठप्प हुँदा लाखौ रुपैयाको घाटा भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत सेवाबाट मासिक ६० हजारको कारोबार गर्दै आएको प्राधिकरण सेवा बन्द हुँदा एक हप्तामा १५ लाखको घाटा भएको कर्मचारीको भनाई छ ।
यता व्यवसायीको भने घाटाको लेखाजोखा नै नभएको व्यापारीहरु बताउँछन् । विद्युत सेवा मानिसको दैनिक जीविको पार्जनको आधार बनेकाले धेरैको व्यवसाय ठप्प भएको र अहिलेसम्म भएको क्षतिको लेखाजोखा गर्न नै कठिन भएको उद्योग बाणिज्य संघ इलामका अध्यक्ष भिष्म बैद्यले जानकारी दिनुभो ।
विद्युत अवरुद्ध हुदा सदरमुकाम सहित ३१ गाविसका बासिन्दा अध्यारोमा बस्न बाध्य भएका छन् । स्थानियबासीले भने विद्युत प्राधिकरणको लापरबाहीका कारण यति लामो समयसम्म विद्युत सेवाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन् ।