काठमाडौं । फलफुल तथा तरकारी व्यवसायी महासंघले विभिन्न १६ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलन घोषणा गरेको छ । फलफुल तथा तरकारी जन्य व्यवसायलाई बन्द हड्ताल, चक्काजाम क्षेत्र रहित बनाइपर्नुे लगायतका माग गर्दै महासंघ आफैले मुलुकभरका फलफुल तथा तरकारी व्यवसाय बन्द सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघले आफूहरुको माग सात दिन भित्र पूरा नगरिए देशभरका सबै तरकारी ब्यवसाय बन्द गर्ने चेतावनी दिएको हो ।
ब्यवसायीहरुले तरकारी फलफुल समेतका कृषि वस्तुमा जिल्ला विकास समिति लगायत सरकारी निकायबाट लिइदै आएको कर खारेज गर्न, फलफुल तथा तरकारी व्यवसाय सम्बन्धी विभिन्न सरकारी एवं गैर सरकारी निकायहरुमा महासंघको अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने माग राखेका छन् ।
यस्तै फलफुल तथा तरकारी उत्पादन एवं व्यवसायलाई अत्यावश्यकीय वस्तुको रुपमा सम्बोधन गरिनुपर्ने माग महासंघको छ । महासंघले फागुन २० गते राती कालिमाटि बजारमा लागेको आगलागिबाट पिडितलाई अझैसम्म पनि राज्यले राहतको नदिएको भन्दै विरोध जनाएको छ ।
– RSS