पोखराको फेवाताल: यहाँ विदेशी पर्यटकहरु आउनेक्रम बढदो छ ।
काठमाडौं । नेपालमा हवाई मार्गबाट आउने विदेशी पर्यटकको सङ्ख्यामा गत वर्षको तुलनामा सन् २०१२ को अगस्त महिनामा २.५ प्रतिशतले वृद्धि भई ४४ हजार ५७१ पुगेको छ ।
सन् २०१२ को आठ महिनामा पनि निरन्तररूपमा पर्यटक आगमनमा वृद्धि भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । आठ महिनाको अवधिमा दक्षिण एसियाबाट औषधमा ४.२ प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ भने बङ्गलादेशबाट ७२, पाकिस्तानबाट १७ र श्रीलङ्काबाट १५ प्रतिशत वृद्धि भएको छ ।
त्यसैगरी भारतबाट आउने पर्यटकको आगमनमा आठ महिनाको अवधिमा १.२ प्रतिशतले ह्रास भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । युरोपेली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा आठ महिनाको अवधिमा औषधरूपमा ६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ । सन् २०१२ को अगस्ट महिनासम्ममा तीन लाख ७७ हजार ०४३ पर्यटक नेपाल भित्रिएका छन् जुन गतवर्षको तुलनामा १६.३ प्रतिशतले वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय पर्यटन बजारमा देशको पर्यटकीय गन्तव्यको प्रचारप्रसार र नेपालबारे सकारात्मक सन्देश प्रवाह भएपछि सन् २००९ को जुन महिनादेखि पर्यटक आगमनमा निरन्तर सकारात्मकरूपमा वृद्धि हुँदै गएको छ । रासस