माओवादीका नेताहरुमाथिको सम्पत्ति छानबिन आगामी कात्तिक ३ सार्वजनिक गरिने

एकीकृत नेकपा (माओवादी)ले आगामी कात्तिक ३ गते पार्टी नेताहरुको सम्पत्ति छानबिनका लागि गठित आयोगले प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।

    सम्पत्ति छानबिनका लागि गठित आयोगले प्रतिवेदनलाई अन्तिम रुप दिएको र सार्वजनिक गर्ने तयारी भइरहेको आयोगका सदस्य लोकेन्द्र विष्ट मगरले जानकारी दिनुभएको छ ।

    आयोगले यही असोजको अन्तिमसम्म प्रतिवेदन सार्वजनिक गर्ने बताए पनि केही प्राविधिक काम बाँकी रहेको भन्दै कात्तिक ३ गते सार्वजनिक गर्ने बताइएको हो ।

    गत असारमा सम्पन्न पार्टीको सातौँ विस्तारित बैठकले पार्टीका नेता अमिक शेरचनको अध्यक्षतामा गठन गरिएको सो समितिले साउनको दोस्रो साताबाट काम थालेको थियो ।

    आयोगको समायावधि सुरुमा एक महिना हुने भनिए पनि काम पूरा नभएको भन्दै पटकपटक म्याद थपिएको थियो ।

    एमाओवादीले आफ्ना केन्द्रीय तहका नेताहरु शान्ति प्रक्रियामा प्रवेश गरेपछि पार्टी नीति विपरित सम्पत्ति जोडेको भन्ने सर्वत्र कुरा उठेपछि आर्थिक हैसियतको सत्यतथ्य केलाउन थालेको आयोगका सदस्य विष्टले जानकारी दिनुभयो ।

    आयोगले गत साउन ११ देखि साउन २८ गतेसम्म नेताहरुका विरुद्ध उजुरी हाल्न सार्वजनिकरुपमा आह्वान गरेको थियो । आह्वानपछि आयोगमा विभिन्न नेताउपर  ६५ वटा उजुरी परेका थिए ।आयोगले उजुरीवाला र उजुरी पर्नेको नाम गोप्य राखेर छानबिन गरेको जनाएको छ । आयोग सदस्य विष्टका अनुसार अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेता पनि छानबिनको दायरामा परेका छन् ।

    आयोग सदस्य विष्टले माओवादीका तल्लो तहमा समेत छानबिन आयोग गठन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले  छानबिनको मूल प्रतिवेदन पार्टीलाई बुझाइने र त्यसको सारांश मात्र सार्वजनिक गरिने बताउनुभयो । सो आयोगमा नेता शेरचन अध्यक्ष र नेता विष्ट तथा नेता नवराज सुवेदी सदस्य रहनुभएको थियो ।

    यसैबीच, माओवादीले सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा लडाकु शिविरभित्र भएको भनिएको आर्थिक अनियमितता छानबिन गर्न अर्को आयोग पनि गठन गरेको थियो ।

    सो आयोगका सदस्य एवम् माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव हितबहादुर पाण्डेले काम अन्तिम चरणमा पुगेको बताउनुभयो । 

 

Source:Rss
 

अन्य समाचारहरु