दशैं, तिहार, छठ जस्ता महत्वपूर्ण चाडपर्वका बेला आकासिएको मूल्य बृद्धिले आम सर्वसाधारणको दैनिकी कष्टकर

काठमाडौं  । दशैं, तिहार, छठ जस्ता महत्वपूर्ण चाडपर्वका बेला आकासिएको मूल्य बृद्धिले आम सर्वसाधारणको दैनिकी कष्टकर बनाइदिएको छ । खाद्यान्न, लत्ता कपडा, सुनचाँदी, लगायतका वस्तुमा बढेको अस्वाभाविक मूल्यबृद्धिले सर्वसाधारणको दैनिकी कष्टकर बनाइदिएको हो । प्रधानमन्त्री बाबुराम भट्टराईले मूल्यबृद्धि नियन्त्रण गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएपनि त्यो कार्यान्वयन हुन त परै जाओस् भट्टराईकै पालामा चरम मूल्यबृद्धि भएको छ ।


नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले पनि उपभोक्ता मुद्रास्फीति बढ्न थालेको देखाएको छ । सरकारको मूल्य बृद्धि नियन्त्रणको नारा नारामै सिमित हुँदै गएको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले प्रष्ट पारिदिएको छ । केही महिना अघिसम्म साढें सात प्रतिशतमा सिमित रहेको मूल्य बृद्धि पुनः दोहोरो अंकमा पुगेको छ । चालु आर्थिक बर्षको पहिलो महिनाको तथ्यांकमा उपभोक्ता मुद्रास्फीति ११ दशमलब ९ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।


अघिल्लो वर्षको यसै अवधिमा यस्तो मुद्रास्फीति ७ दशमलब ७ प्रतिशत रहेको थियो । मूल्य बृद्धि नियन्त्रण गर्ने, सुशासन कायम गर्ने सरकारी योजना योजनामै समिति बनेको छ । आम्दानी नबढ्ने तर भाउ आकासिनाले उपभोक्ताको क्रयशक्ति घटेको छ ।


मूल्यबृद्धि नियन्त्रणमा सरकारले कुनै वास्ता नगरेको सर्व साधारणको गुनासो छ । सरकारले मूल्यबृद्धि नियन्त्रण गर्ने भनेर आश्वासन मात्रै बाँडिरहेको छ, मूल्यबृद्धि नियन्त्रण गर्ने तर्फ ध्यान दिएको छैन, सर्वसाधारणको आक्रोश छ ।