ईलाममा अदुवाको मुल्य गत वर्षको तुलनामा बृद्धि

अदुवाको मूल्यमा बृद्धि, किसानमा खुशियालीईलाम  । ईलाममा प्रमुख नगदेबालीका रुपमा खेती गरिंदै आएको अदुवाको मुल्य गत वर्षको तुलनामा बृद्धि भएपछि किसानहरु अदुवा खन्न हतारिएका छन् । प्रति मन १३ सय देखि १५ सय रुपैयाँ सम्ममा अदुवा बिक्री हुन थालेपछि दशैंका समयमा पनि ग्रामीण भेगका किसानमा अदुवा खन्ने चटारो थपिएको हो ।


यो वर्ष इलाममा किसानले दश मन देखि दुई सय मनसम्म अदुवा रोपेका थिए । गतवर्ष यही सिजनमा प्रतिमन अदुवा ३ सय देखि ५ सय रुपैयाँमा मात्र बिक्री गर्न बाध्य भएका किसानले अहिले बारीबाटै राम्रो मुल्य पाएकोमा खुसी भएका छन् ।


यसवर्ष भारतको पञ्जाब, सिक्किम र आसाम राज्यहरुमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले भाउ पाएको व्यापारीहरुको भनाई छ ।


जिल्लाका ग्रामीण भेगका अधिकांश किसानले नगदे बालीको रुपमा अदुवा खेती गर्दै आएका छन् ।


इलाममा तीनहजार ७५ हेक्टरमा अदुवाको खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ ।

 

– RSS