राजनीतिक सहमति विना ल्याइएको बजेटलाई प्रतिपक्षि दलहरुले अस्वीकार गर्ने

काठमाडौं  । राजनीतिक सहमति विना ल्याइएको बजेटलाई प्रतिपक्षि दलहरुले अस्वीकार गर्ने पूर्व अर्थमन्त्रीहरुले बताएका छन् । आइतबार राजधानीमा भएको अन्तरक्रिया कार्यक्रममा पूर्व अर्थमन्त्रीहरु महेश आचार्य, सुरेन्द्र पाण्डे र डाक्टर प्रकाशचन्द्र लोहनीले उक्त भनाई राखेका हुन् ।

 

सरकारले राजनीतिक सहमतिको प्रयास नगरी अध्यादेशबाट बजेट ल्याए राष्ट्रपतिले स्वीकृत गर्न नमिल्ने पूर्व अर्थमन्त्री  आचार्यको भनाई छ ।

संसद नै नभएको अवस्थामा बजेटमा, योजनाहरु, बजेटको आकार, नीति, जस्ता विषयमा सहमति नगरी एकलौटी ढंगले ल्याउन नहुने आचार्यले बताउनुभयो ।


पूर्ण बजेट नआएकाले मुलुकमा आर्थिक संकट आएको नभइ सरकारको अविवेकि गतिविधिले आर्थिक संकट आएको उहाँको भनाई छ । बजेट नआए राष्ट्रपतिको चुलो बन्द हुन्छ भनेर धम्क्याउदैमा राष्ट्रपतिले राजनीतिक सहमति विना ल्याइएको बजेट स्वीकृत गर्न नहुने अर्का पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनुभयो ।


सरकारले अध्यादेशबाट ल्याएको बजेट राष्ट्रपतिले स्वीकृत गरे पूर्वराजाले कु गरे जस्तै हुने पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीको धारणा छ । संसद नभएको अवस्थामा जनताको प्रतिनिधि नभएकाले प्रमुख राजनीतिक दलसँग सहमति गरेर मात्र बजेट ल्याइनु पर्ने उहाँको भनाई छ ।


सत्ता टिकाइ राख्न सरकारले बजेटलाई हतियार बनाएको उनीहरुको भनाई छ । सरकारको गैरजिम्मेवारीपनले मुलुकमा श्रम र पूजी पलायन हुनुका साथै विदेशी लगानी प्रभावित भएको उनिहरुको आरोप छ । सहमति नभै सरकारले बेलाएको बजेट निर्माण प्रक्रियामा आफुहरु नजाने पनि पूर्वमन्त्री त्रयले बताएका छन् ।
 

RSS