– उमाकान्त पाण्डे गाउंले
बिपक्षी दलसँग भएको सहमति प्रयास असफल भएपछि सोमबार बजेट आउन सकेन । सत्तारुढ दल एमाओवादी र सरकारले बजेटमा सहमति खोज्ने प्रयास असफल भएपछि बजेट अध्यादेश पारित गर्न सोमबार दिउँसो ३ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक स्थागित भएको हो । बिपक्षी दलसँग सहमति गरी मंसिर १ गते बजेट ल्याउने सरकारी तयारी छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेका शीर्ष नेतासँग गरेको छलफल र अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपतिसँगको भेटवार्तापछि सहमतिका लागि थप पहल गर्ने भन्दै मन्त्रिपरिष बैठक स्थगित भएको छ ।
सरकारले बनाएको तयारी अनुसार दिउँसो १ बजे अर्थमन्त्रीले राष्ट्रपतिलाई बजेटको ब्रिफिङ गर्ने, तीन बजे मन्त्रिपरिषद्बाट परित गर्ने र चार बजे अध्यादेशको रुपमा राष्ट्रपतिलाई बुझाउने रहेको थियो । तर, अर्थमन्त्रीसँग राष्ट्रपतिले बजेटका सम्बन्धमा सकरात्मक कुरा गरेको, मंगलबारका लागि चार दलका शीर्ष नेताहरुको बैठक बोलाएको र सहमति गरेर बजेट पारित गर्ने बिषयमा कुराकानी भएको भन्दै सरकारले तयारी स्थगित गरिएको हो ।
‘अर्थ मन्त्रीसँगको भेटमा राष्ट्रपतितले बजेट ल्याउने विषयमा सरकरात्मक कुरा गरेपछि दलहरुबीच सहमति गर्नका लागि आज अध्यादेश लगिंदैन’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार देवेन्द्र पौडेलले भने, ‘यो बीचको विदामा दलहरुसँग थप छलफल गरेर सहमतिको प्रयास गरिन्छ ।’
यसअघि माओवादी अध्यक्षले बोलाएको बैठकमा विपक्षीहरुले सहमतीय सरकार बनेपछि मात्र बजेट ल्याउने भन्दै विरोध गरेका थिए । ‘बजेटको बिषयमा राजनीतिक नेतृत्वमा सहमति आवश्यक छ, बजेट ल्याउँ । असहति राख्नुस् भने,’ दाहालले बैठक पछि संवाददाताहरुसँग भने ।
एमाले अध्यक्ष झलनाथ खनालले भने पहिले सरकारमा सहमति हुनुपर्ने बताए । ‘त्यसपछि मात्र बजेट ल्याउँ,’ उनले भने ।