अमेरिकाले सिरियाको आन्दोलनरत विपक्षी गठबन्धनलाई राज्यको आधिकारिक प्रतिनिधिको औपचारिक मान्यता दिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले विद्रोही गठबन्धनले नै सिरियाको वैधानिक रुपमा प्रतिनिधित्व गर्न सक्ने बताएपछि यो मान्यता पाएको हो ।
अमेरिकाको एबीसी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओबामाले विपक्षी गठबन्धनले सिरियाकातर्फबाट प्रतिनिधित्व गर्नसक्ने पर्याप्त आधार भएको बताउनुभयो ।
फ्रान्स र बेलायतपछि अमेरिकाले दिएको यो समर्थन विपक्षीहरुका लागि महत्वपूर्ण मानिएको छ । राष्ट्रपति बशर अल असादविरुद्धको १८ महिने संघर्षमा ४० हजार सर्वसाधारण मारिइसकेका छन् । विपक्षी गठबन्धनले सिरियाको नेतृत्व गर्ने अधिकार राख्ने भन्दै उहाँले अधिकारसँगै बढ्ने उत्तरदायित्वबारे पनि सचेत हुन विपक्षीहरुको ध्यानाकर्षण गराउनुभयो ।
महिला र अल्पसंख्यकको अधिकारको रक्षा गर्नेतर्फ भने विशेष ध्यान दिन ओबामाले विपक्षी नेताहरुलाई भन्नुभएको छ ।
-Agencies