शेयर बजारमा सुधार जारी

काठमाडौं  । यस साता पनि शेयर बजारमा सुधार जारी रह्यो । गत साता १६ अंक बराबरले बढेको शेयर बजार परिसूचक नेप्से यस साता पनि ९ अंक बढिले सुधारियो ।  साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलब एक शून्य अंकले वृद्धि भई अन्तिम दिन ४ सय ९७ दशमलब दुई चार अंकमा पुग्यो । यस साता होटल समूह बाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आयो ।


जलविद्युत समूह सबै भन्दा उच्च साढे २१ अंक बराबरले बढ्यो । बीमा समूह १७ अंकले र वाणिज्य बैंक समूह पनि १२ अंक बराबरले सुधारियो । यस साता नेपाल स्टक एक्सचेन्जमा ११५ कम्पनीको ३४ करोड २५ लाख रुपैयाँ बराबरका १० लाख २९ हजार कित्ता शेयरहरु खरीद बिक्री भए । गत साता १०८ कम्पनीको ५१ करोड ५२ लाख रुपैयाँ बराबरका १५ लाख कित्ता शेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा भने गत साताको तुलनामा साढे ३३ प्रतिशतले ह्रास आयो ।


यस साता कारोबार रकमको आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक अग्रस्थानमा रह्यो । कारोबार भएको शेयर कित्ताको आधारमा नेपाल वंगलादेश बैंक र कारोबार संख्याको आधारमा ग्लोवल आईएमई बैंक अग्रस्थानमा रहे । कारोबार रकमकै आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकलाई चिलिमे हाइड्रो पावर कम्पनी, नेपाल वंगलादेश बैंक, ग्लोवल आइएमई बैंक र एभरेष्ट बैंकले क्रमशः पच्छ्याउन पुगे ।


यस साता बैंक अफ काठमाण्डू, अपी फाइनान्स, नेरुडे लघुवित्त विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको वोनस शेयर सूचीकृत भएका छन् ।

 

– RSS