
काठमाडौं । जनकपुरमा आज विवाह पंचमी महोत्वस धुमधामकासाथ मनाईदै छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र सीताबीच विवाह भएको दिनको सम्झनामा हरेक बर्ष जानकी मन्दिरमा विवाह पंचमी पर्व मनाउने गरिन्छ ।
बिबाह पंचमी महोत्सवको अवसरमा आज जानकी मन्दिर, राम मन्दिर, दशरथ मन्दिर लगायतका मन्दिरहरुमा पुजापाठ गर्ने श्रद्धालु भक्तजनहरुको विहानैदेखि भीड लागेको छ भने गंगासागर, धनुषसागर, अरगजा पोखरी सहितका जलासयहरुमा स्नान गरी श्रद्धालुहरुले पुजापाठ गरिरहेका छन् ।
आज जानकी मन्दिरवाट गाजावाजाका साथ किशोरी जीको र रामजीको डोला नगर परिक्रमा गरि रंगभुमि मैदानमा सिता स्वंयमवर कार्यक्रमको आयोजना गरिने छ । वेलुका जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र सिता विच वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न भागका साथै भारतको अयोध्या, वृन्दावन, मथुरा, कोलकता, विहार, उतरप्रदेश, राजस्थान सहित विभिन्न स्थानवाट हजारौं श्रद्धालु जनकपुर पुगेका छन् ।
विवाह पंचमीको अन्तिम दिन भोलि जानकी मन्दिरमा भारतको अयोध्याबाट आएका जन्तीलाई धोती कुर्ता, गमछा, चादर प्रदान गरी विदाई गरी राम कलेवा सम्पन्न गरिने छ ।
उता, आजै राप्रपा नेपालले जनकपुरधामबाटै नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउने उद्धेश्यले रथयात्रा आयोजना गर्दैछ ।
– RSS