राष्ट्रपति यादवले नेपालमा सहमतीको निम्ति थालेको प्रयासप्रति भारतीय नेताहरू सकारात्मक

राष्ट्रपति रामवरण यादव (बायाँ) आफ्ना भारतीय समकक्षी प्रणब मुखर्जीसंगराजनीतिक संकट निकासको निम्ति अग्रसरता लिएका राष्ट्रपति रामवरण यादवले नेपालको आन्तरिक मामिलामा प्रभाव राख्ने भारतका केही उच्च नेतासँग एक्लाएक्लै भेटवार्ता गरेका छन्।


उनले विगतमा भारतीय सरकारको तर्फबाट नेपाल मामिला हेरेका र अहिले राष्ट्रपति बनेका प्रणव मुखर्जी तथा विदेशमन्त्री सलमान खुर्सीदसँग एकल भेटघाट गरेका भ्रमणदलका वरिष्ठ अधिकारीहरूले बीबीसीलाई बताए।




राष्ट्रपति यादवले सहमतिको निम्ति थालेको प्रयासप्रति भारतीय नेताहरुले सकारात्मक दृष्टीकोण देखाएको अधिकारीहरुले जनाएका छन्।


आपसमा पुराना परिचित नेपालका राष्ट्रपति यादव र भारतीय राष्ट्रपति मुखर्जी दुवै कार्यकारी अधिकार नरहेका राष्ट्रप्रमुख हुन्।


भ्रमण दलमा सहभागी मन्त्री महेन्द्रप्रसाद यादवका अनुसार ती दुई आलंकरिक राष्ट्रपतिबीच राष्ट्रपति भवनमा करिव १०-१५ मिनेट एक्ला एक्लै कुराकानी भएको थियो र हालसालै विदेश मन्त्रालयको जिम्मेवारी पाएका विदेश मन्त्री सल्मान खुर्सिदले चियापानका क्रममा नेपालका राष्ट्रपतिसँग अनौपचारिक वार्ता गर्ने अवसर पाएका थिए।

 

ती भेटमा भएका कुराकानीबारे केही खुलेको छैन।

तर भारतीय नेताहरूले नेपालमा जारी राजनीतिक अन्यौलको निकासबारे चासो केन्द्रित गरेका बताइएको छ।


राष्ट्रपतिका प्रेस सल्हकार राजेन्द्र दाहालले भने, “राष्ट्रपतिसंग उहाँहरूले नेपालको संक्रमणकाल कसरि अगाडि बढ्छ र यसको व्यवस्थापन कसरि हुन्छ, अगाडि बढ्ने मार्ग के हो भन्ने विषयकै सेरोफेरोमा रहेर आफ्नो चासो व्यक्त गरेका थिए।”


मन्त्री यावका अनुसार भारतीय नेताहरुको जोड चुनावमा थियो।


“अब लोकतन्त्रमा चुनाव नै एउटा विकल्प हो र चुनावको लागि वातावरण बनोस् भनेर उहाँहरूले चिन्ता जाहेर गर्नु भएको हो।”


यो भ्रमणका क्रममा राष्ट्रपति यादवले आफूले थालेको सहमतिको प्रयास सार्थक हुन नसिकरहेको सन्दर्भमा प्रभावशाली छिमेकको भित्रि चाहना बुझ्ने र आफ्नो पनि भूमिका रहेको १२ बुँदे सहमतिबाट शुरु भएको यात्रा भडखालोमा पर्न लागेको जस्तो देखिएका बेला भारतले पनि नयाँ कुनै विकल्पबारे संकेत दिन्छ कि भन्ने सोचेको कतिपयको आँकलन रहेको पाइन्छ।


तर राष्ट्रपतिका प्रेस सल्लाहकार दाहालले भने, “राष्ट्रपतिले पनि असल छिमेकीको नाताले सदभावको मात्रै अपेक्षा गर्नुभाको हुनाले र सबैले राष्ट्रपतिले जुन प्रस्तावना अगाडि सार्नु भएको थियो त्यसमा उहाँहरूको सकारात्मक दृष्टिकोण रहेको पाइयो।”

images

सत्तारुढ गठबन्धनकी नेतृ सोनिया गान्धीले राष्ट्रपति यादव बसेको होटेल गएर उनीसँग भेट गरेकी थिइन्।


राष्ट्रपति यादवले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग बुधवार उनको सरकारी निवासमा भेटवार्ता गरका थिए र त्यहीं सिहले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका थिए।

images

अबेर साँझ भएको उक्त भेटबारे कुनै कुरा बाहिर आएको छैन।


तर राष्ट्रपति मुखर्जीको कार्यालयले जारी गरेको विज्ञप्तीमा भारतले धर्म निरपेक्ष लोकतान्त्रिक गणतन्त्र र स्थिर देशको रुपमा नेपालको प्रगति चाहेको उल्लेख छ।

images

तर त्यसमा नेपालको जल्दो बल्दो मुद्दा संघीयता शब्द लेख्ने खाँचो सो कार्यालयले नदेख्नुलाई महत्वपूर्ण संकेतको रुपमा हेरिएको छ।

 

– rss, bbc nepali