अज्ञात व्यक्तिहरुको समूहले सोमाबार राति सप्तरीमा एक दम्पतीको हत्या

अज्ञात व्यक्तिहरुको समूहले सोमाबार राति सप्तरीमा एक दम्पतीको हत्या गरेको छ । जण्डौल गाविस ८ का ४५ वर्षीय डम्बर भट्टराई र निजकी ३५ वर्षीया श्रीमती कौशल्या भट्टराईको हत्या भएको हो ।
जण्डौलस्थित घरमै रहेको बखत राति अन्दाजी १२/१ बजेको समयमा भट्टराई दम्पतीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यद्यपी हत्या कसले किन गरेको सम्बन्धमा हालसम्म केही खुल्न सकेको छैन ।
मृतक दम्पतीका जेठा छोरा दिपेसका अनुसार घरमा बा-आमा सुतिरहेको बेला ११ जनाको समूहमा आएका व्यक्तिहरुले बा-आमालाई कुट्दै मारिदिएको जानकारी दिए ।
मृतक दुबै जनाको घाँटी गम्छाले बेरको अवस्थामा पाइएको छ । यसैबीच घटनामा केही वन रक्षकहरुको संलग्नता भएको आशंका गरिएको छ ।
सोमबार राति शम्भुनाथ रेञ्ज पोष्टका ८ जना वन रक्षकहरुको टोली त्यसतर्फ गएको र भट्टराईको घरबाट कुखुरा लिएर गएको जानकारीले वनरक्षकहरुलाई शंकाको घेरामा राख्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाए ।
यता भट्टराईको घरबाट वनरक्षकहरुको टोलीले सात सय रुपैयाँमा एउटा कुखुरा किनेर ल्याएपनि घटना विषयमा आफूहरुलाई केही जानकारी नभएको शम्भुनाथ रेञ्जपोष्टका रेञ्जर चतुरनारायण साहले बताए ।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतका अनुसार घटना कसरी भएको बारेमा एकिन हुन नसकेको र विस्तृत अनुसान्धान भइरहेको बताए ।
मृतक दम्पत्तीको शवलाई पोष्मार्टमकालागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मृतका दम्पत्तीका दुई छोरा र एक छोरी छन् । चार/पाँचवटा घर रहेको सानो बस्तीमा भट्टराई दम्पत्तीको हत्या भएपछि बस्तीका बासिन्दाहरुमा त्रास उत्पन्न भएको छ ।