एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशन मकवानपुरको हेटौंडामा शुरु

राजन कुईंकेल
हेटौंडा  । एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशन आजदेखि मकवानपुरको हेटौंडामा शुरु भएको छ ।  २१ बर्षपछि हेटौडामा शुरु हुँदै गरेको महाधिवेशनले दीर्घकालीन जनयुद्धको बाटो औपचारिक रुपमा परित्याग गरी शान्तिपूर्ण परिवर्तन र आर्थिक क्रान्तिको बाटो लिने भएको छ । चितवनको माडीमा २०४८ सालमा भएको माओवादीको छैठौं महाधिवेशनले दीर्घकालीन जनयुद्धको कार्यनीति लिएको थियो । 
महाधिवेशनमा भाग लिन देशभरबाट पच्चीस सय प्रतिनिधि, ५ सय पर्यबेक्षक, ५ सय सल्लाहकार र विभिन्न समितिका सदस्यहरु गरी झण्डै पाँच हजार माओवादी कार्यकर्ता हेटौडा पुगिसकेका छन् । महाधिवेशनको उद्घाटन शत्र मध्यान्ह १२ बजेदेखि स्थानीय हुप्राको चौरमा र बन्द शत्र हेटौडा औधोगिक क्षेत्र भित्र हुने भएको छ । 
उद्घाटन शत्रमा दशौं हजार माओवादी कार्यकर्ताले भाग लिने बताईएको छ । महाधिवेशनको सुरक्षाका लागि १२ सय प्रहरी परिचालन गरिएको छ । महाधिवेशनमा विशिष्ट ब्यक्तित्वहरुको सुरक्षाका लागि ५० जनाको संख्यामा नेपाली सेना पनि खटाईको जनाइएको छ । 
महाधिवेशनको व्यवस्थापनका लागि गठित १४ वटा उपसमितिले सक्रियतापूर्वक काम गरिरहेको पनि एकीकृत माओवादीले जनाएको छ । महाधिवेशनमा पार्टीको नाम परिवर्तनको अभ्यास हुने बुझिएको छ । 
महाधिवेशनले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा झण्डै डेढसय जनाको केन्द्रीय समिति चयन गर्ने सम्भावना रहेको छ । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा भारतप्रति नरम दृष्टिकोण राखिनुका साथै उपाध्यक्ष बाबुराम भट्टराईको राजनीतिक धार हावी भएकाले जसको नीति उसकै नेतृत्वको सवाल पनि महाधिवेशनमा उठ्न सक्ने बुझिएको छ ।
रौतहट, पर्सा, सुनसरीलगायतका जिल्लाहरुमा भएको प्रतिनिधि चयन विवादको असर पनि महाधिवेशनमा देखिने आंकलन गरिएको छ । गोप्य मतदानबाट केन्द्रीय समिति चयनको अभ्यास नभई सहमतिको नाममा बन्द शत्रमा सिधै नाम प्रस्तुत गरेर केन्द्रीय समिति घोषणा गरिने संकेत देखिएको छ । 
२५ गतेसम्म चल्ने महाधिवेशनमा पार्टी विभाजनको असर, नेता तथा कार्यकर्तामा देखिएको सत्ता मोह, सुविधाभोगी प्रबृत्ति, यौन विकृति, जनमुक्ति सेनाको विघटन र लडाकूहरुको विजोगको अबस्था, पूर्णकालीन कार्यकर्ताहरुको दुराबस्थाबारे पनि कार्यकर्ताहरुले असन्तुष्टि जनाउने संकेत देखिएको छ । 
महाधिवेशनमा कार्यकर्ताहरुले पार्टीको नेतृत्व राष्ट्रियताबारे कमजोर रुपमा प्रस्तुत हुन थालेको भन्दै आलोचना गर्ने संकेत देखिएको छ । महाधिवेशनले स्वतन्त्र ब्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरी चुनावमा जानुपर्ने निर्णय लिने नेताहरुले बताएका छन् ।