बजारमा तेलको अभाव कायमै

काठमाडौं  । नेपाल आयल निगमले आवश्यक मात्रामा पेट्रोल उपलब्ध गराएको दाबी गर्दै आएपनि बजारमा भने अभाव कायमै रहेको छ । निगमले काठमाण्डौं उपत्यकामा माग भन्दा बढी तेल उपलब्ध गराउँदै आएको दाबी गरेपनि बजारमा अभावको समस्या हट्न सकेको छैन । निगमले विदाका दिन पनि निजी पम्पहरुलाई माग अनुसार तेल उपलब्ध गराउँदै आएको भन्दै आएको छ ।
 
तर, मंगलबार पनि उपत्यकाका अधिकांश पेट्रोलपम्पहरु बन्द नै रहे । यस दिन झन सार्वजनिक विदा भन्दै सेना, प्रहरी लगायतका सरकारी पम्पहरु पनि बन्द रहे । 
केही निजी पम्पहरुले मंगलबार तीन हजार लिटर भन्दा बढि पेट्रोल नपाएको र पाएको जति बिक्री भैसकेकाले पम्प बन्द गर्नुपरेको जनाए । 
निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले भने मंगलबार सार्वजनिक विदा परेकाले सरकारी पम्पहरुले पेट्रोल विक्रि नगरेकाले केहि अभाव देखिएको हुन सक्ने तर्क गर्नुभएको छ । 
निगमले आवश्यक मात्रामा पेट्रोल दिइएको जनाउने र निजी पेट्रोल पम्पहरुले नपाएको गुनासोले पेट्रोलमा कालोबजारी गरिएको हुन सक्ने उपभोक्ताको आशंका छ । 
ट्यांकर चालक र निगम बीच सहमति भएको धेरै दिन भैसक्दा पनि पेट्रोलियम पदार्थ सुलभ नहुनुलाई आश्चर्यका रुपमा लिइएको छ ।  उपभोक्ताले भाउ बढाउन क्रितिम अभाव सृजना गर्न खोजिएको आशंका समेत गरेका छन् । 
तर, निगम प्रवक्ता पुडासैनीले भने कालोबजारी नभएको दाबी गर्नुभएको छ । वाणिज्य विभागले अनुगमन गरिरहेको र सो क्रममा त्यस्तो नपाइएको उहाँको भनाइ छ ।
RSS