इजरायल । इजरायलले सिरियाको सैनिक क्याम्पमाथि आक्रमण गरेको छ । सिरियन सरकारी टेलिभिजनका अनुसार इजरायलले राजधानी दमस्कासनजिकैको सैनिक अनुसन्धान केन्द्रमाथि रकेट आक्रमण गरेको हो । माउण्ट क्याएसन क्षेत्रमा विष्फोटको ठूलो आवाज सुनिएको जनाइएको छ । ठूलो आवाजका साथ भएको विष्फोटले राजधानी दमास्कस नै हल्लिएको थियो ।
जमराया सैनिक केन्द्रनजिक आक्रमण गरिएको विश्वास गरिएको छ । त्यहाँस्थित सैनिक अनुसन्धान केन्द्र यसअघि जनवरीमा पनि इजरायलले निशाना साँधेको थियो । शुक्रवार पनि इजरायली विमानले सिरियाको मिसायलले भरिएको एक जहाजमाथि आक्रमण गरेको एक इजरायली अधिकारीले जनाएका थिए । हतियारले भरिएको उक्त जहाज लेबनानी हिज्बुल्लाह समूहको प्रयोगको लागि भएको अनुमान गरिएको थियो ।
सिरियाली सरकारी टीभीले भने इजरायलको यो आक्रमणले आतंकवादीहरुको मनोवल बढाउने टिप्पणी गरेको छ । इजरायली अधिकारीहरुले भने आक्रमणबारे कुनै प्रतिक्रिया दिएका छैनन् । दमास्कसको वरिपरी राष्ट्रपति बशार अल असादको सेना र विद्रोहीबीच महिनौंदेखि युद्धको अवस्था रहेको छ । असादको शासनविरुद्ध सन् २०११ को मार्चदेखि भएको विद्रोहमा ७० हजारभन्दा बढी व्यक्ति मारिएको राष्ट्रसंघले जनाएको छ ।
Agencies