खगेन्द्र अधिकारी
ताप्लेजुङ – अविरल वर्षासँगै आएको पहिरोले ताप्लेजुङको थुकिमा-६ का एकै परिवारको तीन घर बगाउँदा ७ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्। गएराति १ बजे थुकिमा- ५ को सिङथापा भन्ने ठाउँमा गएको पहिरोले अष्टबहादुर शिवा उनका छोरा सलमान र तेजबहादुको घर बगाएको हो।
पहिरोले बगाउँदा अष्टबहादुर शिवा, उनकी ६० वर्षीया श्रीमती जसमाया, उनका जेठा छोरा ३१ वर्षीय सलमान शिवा, ३५ वर्षीया बुहारी मनुकारी शिवा, नाती १४ वर्षीय नानीराम शिवा र १२ वर्षीय खगेन्द्र शिवा र बुहारी नैना शिवाको शव भेटिएको प्रहरी प्रमुख गोविन्द आर्चाय बताए।
त्यस्तै अष्टबहादुरका २५ वर्षीय कान्छा छोरा तेजबहादुर शिवा, १० वर्षीय काजी शिवा, ६ वर्षीय आशिस शिवा र १० वर्षीय नाती काजी शिवा, ६ वर्ष र ४ का आशिष र आशिका बेपत्ता भएको आचार्यले बताए ।
सोही पहिरोले थुकिमा-४ का कुविरसिंह सावाका श्रीमती सुकमाया साँवा सहित तीन जना घाइते भएका छन। घाइते मध्ये सुकमायाको अवस्था गम्भीर रहेकोले उपचारको लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।
बेपत्ताहरुको खोजी स्थानीयवासी र प्रहरीले गरिरहेको छन् भने सदरमुकाम फुङलिङबाट थप उद्धार तथा खोजीको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। घटनास्थल ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि सात घण्टाको पैदल दुरीमा रहेको छ।
उता नाल्बु ५ मा गएराति गएको पहिरोले क्षति पुर्याउँदा तुरुन्ध्वोज नाल्बुका परिवार विस्थापित भएका छन्।