नुवाकोट । धान रोप्ने समय भइसक्दा पनि धानको बीउ नउम्रिएपछि नुवाकोटका किसान मर्कामा परेका छन् । चितवनको रामपुर २ शारदानगरमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रोसिड एण्ड इन्पुट्स कम्पनीले उत्पादन गरेको सावित्री धानको बीउ छरेको १५ दिनसम्ममा पनि नउम्रिदा किसान मर्कामा परेका हुन् ।
जिल्लाको अन्नभण्डार मानिने क्षेत्र खानीगाउँ, गणेशस्थान, खरानीटार, सुन्दरादेवीलगायत गाविसका किसानले छरेको बीउमा समस्या आएपछि रोपाई गर्ने समयमा फेरि धानको बीउ छर्नु परेको छ । समयमा रोपाई गर्न नपाउँदा धानको उत्पादनमा गिरावट आउने र त्यसपछि लगाउने बालीमा पनि ढिलाई हुने किसानहरुको गुनासो छ ।
नुवाकोटमा नासिक निड्सको आधिकारिक बिक्रेता नभएपनि कम्पनीले दिने उच्च कमिशनको कारण एग्रोभेट पसलेहरुले बीउको परीक्षण प्रतिवेदन नै नहेरिकन खरिद गरेका हुन् ।
किसानले छरेको धानको बीउ बढीमा एक तिहाई मात्र उम्रेको एग्रोभेट सञ्चालकहरुले स्वीकारेका छन् ।
कम्पनीको बीउ परीक्षण प्रतिवेदनमा नासिक निड्सको कार्यालय नेपाल एग्रोसिड एण्ड इन्पुट्स कम्पनी प्रालि उल्लेख छैन भने बीउको प्याकेटमा कम्पनीको पहिचान प्रष्ट छैन । जिल्ला कृषि विकास कार्यालय नुवाकोटले किसानलाई नक्कली र कुहिएको बीउ बेच्ने दलाली बढ्दै गएकाले सचेत रहन आग्रह गरेको छ ।
RSS