आगामी संविधानसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान

काठमाडौं  । निर्वाचन आयोगले आगामी संविधानसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई आज निर्वाचन चिन्ह प्रदान गरेको छ । देशभरका २ सय ४० निर्वाचन क्षेत्रका निर्वाचन केन्द्रमार्फत विहान १० बजेदेखि नै निर्वाचन चिन्ह प्रदान गरिएको हो । 
आज अपरान्ह ५ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । दलका उम्मेदवारहरुलाई दलले पाएको निर्वाचन चिन्ह प्रदान गरिएको छ भने स्वतन्त्र उम्मेदवारहरुलाई भने आयोगले निर्धारण गरेका ४२ वटा निर्वाचन चिन्हबाट चयन गर्न दिइएको छ । 
आयोगले आजै उम्मेदवारलाई परिचय पत्र पनि उपलब्ध गराएको छ । आयोगले संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारहरु ६ हजार १ सय ४७ जनाको नाम हिजो सार्वजनिक गरिसकेको थियो । 
प्रत्यक्षमा उम्मेवारी दिएकामध्ये १ सय ९६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । RSS, IMAGECHHANEL