नेकपा-माओवादी नेतृत्व ३३ दलीय मोर्चाले गरेको आमहडतालका कारण मुलुकभरको जनजीवन प्रभावित

नेकपा-माओवादी नेतृत्व ३३ दलीय मोर्चाले गरेको आमहडतालका कारण बिहानैबाट काठमाडौं उपत्यका लगायत मुलुकभरको जनजीवन प्रभावित बनेको छ ।
सडकमा बन्द कर्ताहरु नदेखिएपनि बिहानै देखि सडकहरु प्राय सुनसान नै छन् । लामो तथा छोटो दुरीको सवारी साधन चल्न सकेका छैनन् ।
यसैबीच बन्दको अबज्ञा गरेको भन्दै नागरिक दैनिक पत्रिकाको गाडीमा तोडफोड गरेका छन् ।
काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल विद्युत प्राधिकरण अगाडि राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाएको छ । यस्तै राजधानीकै बुद्धनगर, डिल्लीबजार, गोंगबु, धापासीमा शंकास्पद वस्तु भेटिएका छन् । खतरा भनेर बोरामा राखिएको शंकास्पद बस्तु बम नभएर कुकरमा भूस राखिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
काठमाडौ र भक्तपुरमा  तोडफोड र आगजनी
राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट अगाडि पत्रिका बोकेको बा ४ च् ४८७२ नम्बरको गाडी तोडफोड गरेका छन् । यस्तै काठमाडौकै तीनकुनेमा पार्किङ गरेर राखिएको बा ६ च ५५११ र बा ३ च ७८२२ सवारी साधन तोडफोड गरिएको छ भने तीनकुनेमै ट्रिटन कलेजमा पार्किङ गरिएको बा ४ च २४३२ सेन्ट्रो कार पनि तोडफोड भएको छ ।
त्यस्तै भक्तपुरमा शान्ति मन्त्रालयको एउटा जीप सहित यात्रु बसमा आगजनी गरिएको छ ।
भक्तपुरको खरिपाटीस्थित शान्ति मन्त्रालयको बा.१ झ.७०८४ नम्बरको पार्किङ गरिराखेको गाडीका राती एक बजे आगजनी गरिएको हो भने सानोथिमि एसओएस नजिकैको एक वालुवा डिपोमा रोकिराखेको बसमा आगजनी गर्दा बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
यात्रु बाहक सवारीमा आगजानी भएपछि सुरक्षा नभएको भन्दै कोटेश्वर पूर्वका जिल्लामा सञ्चालन हुने बस ठप्प छ । सवारी जलाएपछि असुरक्षाको महसुस गरेर सवारी सञ्चालन नभएको हो ।
यसैबीच बन्द गराउँदै हिड्नेलाई राजधानीका बिभिन्न स्थानहरुबाट प्रहरीले पक्राउ गरीरहेको छ ।  प्रहरीले काठमाडौंबाट २० जना र ललितपुरबाट १४ जना पक्राउ गरेको हो । तीमध्ये नागरिक दैनिकको गाडी जलाउने तीन जना पनि पक्राउ परेका छन् ।
यसैबीच बन्द निस्तेज पार्न सरकारले सम्पूर्ण शक्ति प्रयोग गरेको छ । बिहान ६ बजेबाट नेपाली सेनासहितको सुरक्षा टोली सडकमा खटाएको छ । 
३३ दलले हिजो आन्दोलनको कार्यक्रम परिमार्जन गरी पुन सार्वजनिक गरेको हो । आज देशब्यापी हडताल र भोलिदेखि मंसिर ४ गते चुनावका दिनसम्म यातायत हड्ताल गर्ने उनीहरुले बताएका छन् । – सेतोपाटी