नेपालगन्ज – अंग्रेजी नयाँ वर्षको पहिलो दिन ठूला तीन दुर्घटनामा दुई दर्जनले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार सल्यान, तनहुँ र सुनसरीमा भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा दर्जनौं घाइते भएका छन् ।
……………
काठमाडौंबाट रुकुम जाँदै गरेको लु १ ख ८२९० नम्बरको यात्रु बाहक बस बुधवार बिहान बाझकाडा १ मोख्लामा दुर्घटना हुदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । ३६ यात्रु घाइते छन् । ती मध्ये १९ को अबस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा अधिंकास यात्रु रुकुमका छन् । रुकुम १ छिवाङका २२ वर्षीया करुणा घर्ति, खलंगाका आनन्द कुमार केसि, प्रेम बुढामगर, सुजन शाह, चौखाबाङ २ का मनबहादुर बुढा र प्रेमी बुढाका ३ वर्षीय छोराको दुर्घटनामा ज्यान गएको छ । त्यस्तै सल्यान बाझकाडा १ मोख्लाकी भुमा बुढाथोकी र महेन्द्र दल गण ‘घ’ गुल्म रुकुममा कार्यरत नेपाली सेनाका राजेश बुढाको दुर्घटनामा मृत्यु भएको छ ।
बुधबार बिहान चार बजेतिर सडक छेउमा रहेको ढुंगामा ठोक्किदा गाडी ब्याक भएपछि दुर्घटनामा परेको हो । यात्रु बाहक बस सडकदेखि सय मिटर तल शारदा खोलामा खसेको छ । गाडीमा ५० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ । रुकुम साख ८ का यात्रु रामबहादुर गिरीले चालकको लापरबाहीका कारण बस दुर्घटनामा परेको बताए । ‘सबै निदाएका थिए । तर म जागै थिए,’ उनले भने, ‘चालक निदाउदा बस सडक छेउमा भएको ढुंगामा ठोक्किएर दुर्घटना भयो ।’
दुर्घटनापछि चालक गाडी छाडेर भागेकाले ब्याक भएर खोलामा खसेको उनको भनाई छ । खोलामा पानीको सतह बढी थियो । गाडीबाट खसेकी तीन बषिर्या बालिकालाई खोलाले बगाएर लगेपछि करिब ५० मिटर तल शब भेटिएको थियो ।
गम्भीर घाइते हुनेमा रुकुम २ खाराका धनबहादुर वली, प्युठान पुर्तिबाङका हेमराज बिष्ट, बाझकाडा १ मोख्लाका गोबिन्द चलाउने, रुकुम खलंगाका डेबिट घर्ति, सुर्खेत कुनाथरी १ का गोपाल सिजाली मगर, रुकुम कोल ३ का अनिल सुनार, आठबिसकोटका दलबहादुर बुढा, धनमाया बुढा, बारा, झगडिया ६ का रामकुमारी बिक, रुकुम आठबिसकोठ ८ का मोहनबहादुर मल्ल, आठबिसकोट ३ की प्रेमा बोहरा, रामबहादुर बुढा, रुकुम कोल ८ का गोपाल पुन, मिरा पुन छन् । उनीहरुलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । बाँकी घाइतेको जिल्ला अस्पताल, कान्तिपुर सामुदायिक अस्पत्ताल श्रीनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रन्जितसिंह राठौरले बताए । नेपाली सेना, प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए । बस दुर्घटनामा परेको आधा घन्टामा स्थानीय गाउँलेले धेरैको उद्धार गरेका थिए । चिसोले कठ्याग्रिएकालाई रातीको समयमा खोला नजिकै आगो बालेर सेकाइएको थियो ।
……………
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको जिप मंगलबार राति बन्दिपुर-६ चुनपहराबाट मर्स्याङ्दी नदीमा खस्दा ६ भारतीय पर्यटकको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित अन्य ५ जना घाईते भएका छन् ।
मृत्यु हुनेहरुमा ५८ वर्षीय विनयकुमार तिवारी, १३ बर्षीय हेमन्त त्रिपाठी, ५६ बर्षीया कलावती तिवारी, ३३ बर्षीया पुनम त्रिपाठी, २० बर्षीया नेहा त्रिपाठी र ३६ बर्षीय मिलन त्रिपाठी रहेका छन् । मिलन वाहेकका उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको हो । गम्भीर घाइते मिलनलाई थप उपचारका लागि काठमाडौं लैजादैं गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक ईन्चार्ज प्रहरी नायव निरिक्षक भेषराज रेग्मीले बताए ।
ग १ ञ ६६९ नम्बरको जिप दुर्घटनामा परी स्याङ्जा पुतलीबजार २ का जिप चालक युवराज गुरुङ्ग घाईते भएका छन् । उनीसहित दुर्घटना घाईते हुनेहरुमा ८ वर्षीय आशि दुवे, ९ वर्षीय आरएन दुवे, ३४ वर्षीय सतेन्द्र दुवे र ४३ वर्षीय रविकान्त त्रिपाठी रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको बन्दिपुर १ डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।
मृतकहरुको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ekantipur