घाना पठाएको ४ करोड रुपैयाँ डुबेको

पश्चिम अफ्रिकाको घानाबाट सुन आयात गरेर व्यवसाय गर्न खोज्ने एक नेपाली उद्यमीको ४ करोड रुपैयाँ डुबेको घटनामा गृह र परराष्ट संयन्त्रले अनुसन्धान गर्न नचाहँदा व्यवसायी थप पीडित बनेका छन् ।
नेपाली व्यवसायी दिनेशकुमार मिश्रले सरकारले तोकेको नियम अपनाएर घानाबाट सुन झिकाउन पठाएको ४ करोड रुपैयाँ डुबेपछि मिश्रले गृह मन्त्रालय, परराष्ट हुँदै इन्टरपोलसमक्ष पनि यो प्रकरण छानबिनका लागि निवेदन दिएका थिए । घानास्थित गोल्ड कोष्ट कम्पनीसँग चार बर्षअघि गरेको सम्झौतामा ४ लाख डलर (झण्डै ४ करोड रुपैयाँ) मूल्य तिरेर २ सय केजी सुन आयात गर्ने सहमति भएको थियो ।
यो सहमतिपछि सुन कारोबार गर्ने गोल्ड कोष्ट कम्पनीका प्रबन्धक अल्फ्रेड कोफी जोन्सलाई भेट्न घाना पुगेर सबै तहमा आश्वस्त बनेपछि मात्रै व्यवसायी मिश्रले बैंक र मनी ट्रान्सफरबाट पैसा पठाउन थालेका थिए । आफ्नो अधिनमा रहेको श्रेया बिजिनेश ट्रेडिङ कन्सर्न प्रालीमार्फत भइरहेको कारोबारमा पैसा तिरेर पनि सजिलै सुन नआएपछि मिश्रले प्रबन्धक जोन्सलाई सम्पर्क गरेका थिए । जोन्सले ठूलो अनुपातमा सुन पठाउन भन्सार कठीनाई देखिएकाले केही पैसा लिएर मलेशिया आउन र त्यहाँबाट सुन लिएर जान अर्को चरणमा आश्वस्त दिलाएका थिए ।