कर छलीको आशङ्कामा ५ सय ७ व्यापारिक फर्ममाथि अनुसन्धान सुरु

आन्तरिक राजस्व कार्यालय विराटनगरले कर छलीको आशङ्कामा ५सय ७ व्यापारिक फर्ममाथि अनुसन्धान सुरु गरेको छ।
 
कार्यालय प्रमुख गोपाल कोइरालाले मोरङ जिल्लाका साना तथा ठूला उद्योगहरूले मिस म्याच गरेको शङ्का गरिएका फर्महरूमा अनुसन्धान सुरु गरेको जानकारी दिए।
 
आर्थिक वर्ष २०७०/७१ को असार मसान्तभित्र मिस म्याच गरी कर छलेको आशङ्का गरिएकाले छानबिन सुरु गरिएको उनले बताए।
 
कोइरालाले शङ्काको घेरामा परेका फर्महरूलाई पत्राचार गरिसकेको र उनीहरू सम्पर्कमा आउनेबित्तिकै अनुसन्धान सुरु हुने पनि जानकारी दिए।
 
विशेष गरेर मदिरा पसल, चाउचाउ, ग्यास व्यापारी, चुरोट बिक्रेताहरूले मिस म्याच गरेर कर छलेको हुनसक्ने कार्यालय प्रमुख कोइरालाको भनाइ छ। आन्तरिक राजस्व विभागकै निर्देशनमा अनुसन्धानको काम सुरु गरिएको हो। रासस