सवारीचालकलाई जिम्मेवार बनाउन नयाँ नियमावली, चालक बन्न १० कक्षा पास अनिवार्य

काठमाडौं- सार्वजनिक यातायातको बेथिति र मनमानीका कारण शृंखलाबद्ध सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेपछि सरकारले सार्वजनिक सवारीचालकलाई जिम्मेवार बनाउन नयाँ नियमावली ल्याएको छ।
धेरै यात्रुको जिम्मेवारी बोक्नुपर्ने यात्रुवाहक बस कम उमेरका र अनुभवहीन चालकको जिम्मामा छाड्दा दुर्घटना बढेको भन्दै मन्त्रिपरिषदले अनुभवी, दक्ष र पाको उमेरका चालक मात्र राख्न पाउने गरी सार्वजनिक सवारीचालक नियमावली, २०७१ ल्याएको हो।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले पारित गरेको उक्त नियमावलीअनुसार अबदेखि ठूला तथा मझौला सार्वजनिक सवारीचालक बन्न २५ वर्ष उमेर पुगेको हुनुपर्नेछ। त्यस्तै, ६० वर्षभन्दा बढी उमेरका चालकले यात्रुवाहक सवारी चलाउन नपाउने गरी उमेरहद तोकिएको छ। मालवाहक सार्वजनिक सवारीका हकमा पनि यो नियम लागू हुनेछ।
नियमावलीले ठूला सवारी भनेर बस तथा मिनिबसलाई किटान गरेको छ भने माइक्रो तथा सोही आकारका सवारीलाई मझौला भनेको छ। साना सार्वजनिक सवारीका हकमा पनि चालकको उमेर तोकिएको छ, जसअनुसार साना यात्रुवाहक गाडी चलाउने लाइसेन्स लिन २३ वर्ष उमेर पुगेको हुनुपर्नेछ। साना सार्वजनिक सवारीमा ट्याक्सी पर्छ। हालसम्मको व्यवस्थाअनुसार २१ वर्षकै उमेरमा ठूला सार्वजनिक सवारी चलाउन पाइन्थ्यो भने मझौला तथा साना सवारी चलाउने लाइसेन्स लिन १८ वर्ष उमेर भए पुग्थ्यो।
सरकारले पहिलोचोटि निजी तथा सार्वजनिक सवारीनिम्ति लाइसेन्स लिने प्रणालीसमेत फरक