काठमाडौंसहित देशका विभिन्न भागमा सयौँ हताहत भएको अनुमान

. Kathmandu (Nepal), 25/04/2015.- People try to free a man from the rubble of a destroyed building after an earthquake hit Nepal, in Kathmandu, Nepal, 25 April 2015. A 7.9-magnitude earthquake rocked Nepal destroying buildings in Kathmandu and surrounding areas, with unconfirmed rumours of casualties. The epicentre was 80 kilometres north-west of Kathmandu, United States Geological Survey. Strong tremors were also felt in large areas of northern and eastern India and Bangladesh. (Terremoto/sismo) EFE/EPA/NARENDRA SHRESTHA

EFE/EPA/NARENDRA SHRESTHA

 

काठमाडौं – शनिबार बिहान गएको भूकम्पले काठमाडौंसहित देशका विभिन्न भागमा सयौँ हताहत भएको अनुमान गरिएको छ । 



आधिकारिक तथ्यांक आएको छैन । शिक्षण अस्पताल महाराजगञ्जमा ५० जनाभन्दा बढीको शव राखिएको छ । धरहरा क्षतिग्रस्त हुँदा केहीको ज्यान गएको अनुमान गरिएको छ । 



जिल्ला सहकर्मीहरुका अनुसार सबैभन्दा बढी गोरखामा १४ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । नुवाकोटमा ६ जना, भक्तपुरमा ५ जना सुनसरीमा २ जना र मकवानपुरमा ३ जनाको मृत्यु भएको छ ।



 पुराना घरहरु  भत्किएको छ । बसन्तपुर असन लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ। हाम्रा संवाददाता विजय तिमल्सेनाका अनुसार अहिले बसन्तपुर दरबार क्षेत्रबाट चारजनाको शब निकालिएको छ । 



सडक फुटेका छन्। पटकपटक भूइचालो गइरहेको छ । सडकमा मानिसहरु के गर्ने, कहाँ जाने भनेर अन्योल बढेको छ।  सुरक्षा निकाय उद्दारमा जुटेको छ। पटक पटक गरी आएको भूकम्पले कति क्षति पुर्याएको छ विवरण आउन बाँकी छ। 



भूकम्पमा मोरङ जिल्लामा ११ जना घाइते भएका छन् । टंकी सिनुवारी ५ स्थित एभरेष्ट आइरन उद्योगको पर्खाल भत्किँदा च्यापिएर एक नाबालक सहित ६ जना घाइते भएको जिल्ला प्रहरीका डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । यस्तै विराटनगरकै विभिन्न स्थानमा घरवाट हामफाल्ने क्रममा अन्य ५ जना पनि घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डिएसपी ढकालका अनुसार भूकम्पवाट जिल्लाको केही विद्यालय र घरहरू चर्किएका छन् । जिल्ला भरी नै प्रहरी परिचालन गरि भूकम्पवाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको छ । निक्कै बेर सम्म र पटक पटक धक्का महसुस गरिएपछि अझैपनि सर्वसाधारण त्रासमै छन् । खासगरि बालबालिकाहरू बढी त्रसित भएका छन् । 



यसैगरी क्षेत्रीय प्रहरी कार्यालयका अनुसार कास्कीमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने १ सय ४७ घरमा क्षति पुगेको छ ।