भूकम्पपीडित भूकम्पको त्राससँगै जोखिममा रात बिताउन बाध्य, झरीले बिजोग

An elderly Nepalese walks past a damaged temple performing rituals to end the mourning period of a family member who died in the April 25 earthquake, in Bhaktapur, Nepal, Wednesday, May 6, 2015. The April 25 earthquake killed thousands and injured many more as it flattened mountain villages and destroyed buildings and archaeological sites in Kathmandu. (AP Photo/Niranjan Shrestha)

भक्तपुरमा । तस्बिर: एपी 

 

भक्तपुर-राजमार्गखण्डअन्तर्गत कोटेश्वर सूर्यविनायकको ६ लेन सडकको बीचमा बनाइएको बगैँचामा बस्ने भूकम्पपीडित भूकम्पको त्राससँगै जोखिममा रात बिताउन बाध्य छन्।



बस्दै आएको घर भूकम्पले भत्काएपछि सडकको बीचमा बस्दै आएका सयौं मानिस सडकमा गुड्ने गाडीले किचिदेला कि भन्ने डर र हावाहुरीसँगै आउने पानीको त्रासमा रात गुजार्ने गरेका छन्। छ लेन सडकअन्तर्गत सल्लाघारीमा सडक बीचमा बस्दै आएका शर्मिला तामाङका परिवारको हरेक रात अनिदोमै बित्ने गरेको छ।



साँझ परेपछि आउने हुरी बतासले टाँगेको प्लास्टिक पनि उडाइदिने र आकाशबाट आउने पानीले सुत्ने ओछ्याउन भिजाइदिने समस्या झेल्दै आएका उनीहरुले राति तीव्र गतिमा गुड्ने गाडीले परिवारलाई एकै चिहान बनाइदेला भन्ने त्रास पनि छ ।



डेरा बस्दै आएका घर भत्किएपछि सडकमा बस्ने धेरैको दैनिक चिन्ता नै मरिन्छ कि बाँचिन्छ भन्ने नै हो। छ लेन सडकअन्तर्गत सूर्यविनायक क्षेत्रमा सडकको बीच बगैँचामा बस्दै आएका लालबहादुर श्रेष्ठको चिन्ता पनि उस्तै छ ।



सडकको बीचमा बसेका छै, न शरीर तन्काएर सुत्न सकिन्छ, न त आनन्दले निदाउनै सकिन्छ, भूकम्पको त्रासले सडकमा ल्याइदियो, सडकमा आएपछि सवारी साधनको त्रासले निद्रा लाग्दैन, खै कसरी बित्ने हो जीवन ? श्रेष्ठ भन्छन्।



खाली ठाउँ नपाएपछि बाध्य भएर सडकमा बस्नुपरेको बताउने उनीहरुले सडकमा बस्नेले ओत लाग्ने पाल र राहतसमेत नपाएको गुनासो गरेका छन्।



थिमी सडकमा बस्ने राधेश्याम लामा भन्छन्- हामी सडकमा बसेको यतिका दिन भइसक्यो, प्लास्टिक ओढेर बसेको सबैले देखेका छन्, यही बाटोबाट कैयौं गाडी राहत पाल लिएर गयो तर यहाँ बसेकालाई एउटा पाल र राहतका सामग्री दिएका छैनन्।



राहत सामग्री नपाएको गुनासो छैन यहाँ बस्नेहरुको। पाल पाइदिए हुन्थ्यो भन्ने उनीहरुको एउटै माग हो। पाल पाइए झरीबाट बच्न पाइने आशा उनीहरुको छ। सबैतिरका भूकम्पपीडितका लागि आँखा परेपनि सडकमा बस्ने भूकम्पपीडितमा कसैको आँखा नपरेको गुनासो गर्छन् यहाँ बस्नेहरु। रासस