विनाशकारी भूकम्पले पश्चिमाञ्चल क्षेत्रका १ हजार ६ सय २० विद्यालय पूर्णरुपमा क्षतिग्रस्त

पोखरा, जेष्ठ ७ । विनाशकारी भूकम्पले पश्चिमाञ्चल क्षेत्रका १ हजार ६ सय २० विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
विद्यालय क्षतिग्रस्त हुँदा पाँच लाख विद्यार्थीहरु प्रभाभित भएका छन् । गत वैशाख १२ गते गएको भूकम्पले गोरखाका ५ सय ७४ मध्ये ४ सय ४५ विद्यालयमा पूर्णरुपमा क्षति पुगेको क्षेत्रीय शिक्षा निर्देशक बैकुण्ठ अर्यालले जानकारी दिए ।
 
यस्तै, लमजुङ्गका ४ सय १७ विद्यालयमध्ये १ सय ९३ विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने तनहुँमा १ सय ७१, कास्कीमा १ सय १, पर्वतमा ५५, मुस्ताङमा २८, मनाङमा ५, म्याग्दीमा ३५, बाग्लुङमा १ सय ४७, गुल्मीमा १५, अर्घाखाँचीमा ३६, स्याङ्जामा ९०, पाल्पामा १ सय ९८, नवलपरासीमा ६५ र रुपन्देहीमा ४९ विद्यालयमा क्षति पुगेको छ ।
पश्चिमाञ्चलका करिब १७ लाख विद्यार्थीमध्ये ५ लाख भूकम्पबाट प्रभावित भएका छन् । अस्थायी टहरा निर्माण गरी लम्जुङ र तनहुँमा जेष्ठ १० गतेबाट र गोरखामा १७ गतेबाट कक्षा सन्चालन गर्ने तयारी गरिएको छ । इमेजखबरमा समाचार छ ।