काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुकालागि सरकारले गरिरहेको राहत, उद्दार र पुनःनिर्माणको कामलाई सबैले वाचडगका रुपमा निगरानी गरिदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवासमा राहत हस्तान्तरण गर्न पुगेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग प्रधानमन्त्री कोइरालाले राहत रकममा हिनामिना हुन नदिन आफू दृढ संकल्पित रहेको भन्दै त्यस्तो सूचना पाए आफूलाई खबर गर्न पनि आग्रह गरे ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा नारायणी नेशनल फाइनाइन्सले बुझाएको दश लाख रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले सरकारको मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनु हामी सबैको दायित्व भने ।
प्रधानमन्त्री कोइरालाले पीडितहरुको भत्किएका संरचना पुनःनिर्माणकालागि सबैको सहयोग जरुरी परेको उल्लेख गरे ।
अघिल्ला प्रधानमन्त्रीहरुले कार्यकर्तालाई रकम बाँड्ने गरेकामा आफूले त्यस्तो काम पूर्ण रुपमा रोकिदिएको दाबी पनि गरे ।
प्रधानमन्त्री कोइरालाले कोषको एक पैसा पनि हिनामिना हुन नदिने बताए ।
राहत कोषमा खानेपानी संस्थानका कर्मचारीहरुका तर्फबाट १८ लाख ५० हजार, राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट २५ लाख सात हजार, एनडीईपी डेभलपमेन्ट बैंकले दश लाख चार हजार, क्रिश्चियन महासंघले २५ लाख तथा साहित्यकारहरुको संस्थाले एक लाख रकम जम्मा गरेका छन् ।
यसैबीच प्रधानमन्त्री कोइरालालाई काठमाडौं महाबौंद्ध क्षेत्रमा रहेर व्यवसाय गरिरहेका व्यवसायीहरुले भूकम्पबाट त्यस क्षेत्र र आफ्नो व्यापार व्यवसायमा परेको असरबारे जानकारी गराएका थिए ।
उनीहरुले व्यवसाय गर्न वैकल्पिक स्थानको व्यवस्था मिलाइदिन पनि आग्रह गरेका थिए । इमेजखबरमा समाचार छ ।