नुवाकोट । बैशाख १२ गते गएको भूकम्पबाट क्षति पुगेको नुवाकोट र रसुवाको विभिन्न स्थानको राष्ट्रपति सहित सरकारका मन्त्री र दलका नेताहरुले स्थलगत अवलोकन गरेका छन् ।
हेलिकोप्टर मार्फत राष्ट्रपति, गृहमन्त्री लगाएत दलका नेताहरुले अवलोकन गरेका हुन । विभिन्न स्थानको अवलोकन गर्दै राष्ट्रपति डाक्टर रामबरण यादवले सबै नेपाली एकताबद्ध भएर विपत्तिको सामना गर्नुपर्ने बताए ।
भूकम्पले क्षति पुर्याएको भौतिक संरचनालाई अवसरको रुपमा लिदै सरकारले तत्काल पुनःस्थापनामा जोड दिन प्रयास थाल्नुपर्ने सुझाव समेत दिए ।
ध्वस्त भएका संरचनालाई पहिलेकै अवस्थामा ल्याउन सरकारले लिने नेतृत्वमा जनताहरुलाई पनि एकीकृत हुन उनले आग्रह गरे ।
अवलोकनका क्रममा गृहमन्त्री बामदेव गौतमले सरकारले प्राकृतिक प्रकोपको सामना डटेर गरेकाले धेरै क्षति हुनबाट जोगाएको दाबी गरे ।
प्राप्त तथ्याङ्को आधारमा रकम निकास गर्नुपर्ने भएकाले एकैचोटी अनुमानको आधारमा पठाउन नमिल्ने गौतमले बताए ।
राहत वितरणमा अनियमितता गर्नेलाई छानबिन गर्ने र अनियमितता गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाए ।
राष्ट्रपति, गृहमन्त्री सहित मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, नेकपा मालेका अध्यक्ष सिपी मैनाली, सुरक्षा अंगका प्रतिनिधिहरुको टोलीले रसुवाको धुन्चे, रसुवागढी नाका, नुवाकोटको विदुर, चौघडा लगायतको स्थानको स्थलगत तथा समग्र जिल्लाको हेलिकोप्टरबाट अवलोकन गरेका थिए । इमेजखबरमा समाचार छ ।