प्रधानमन्त्री सुशील कोइरालाद्दारा राहत सामग्री वितरणमा अनियमितता हुन नदिन दाताहरुलाई पनि निगरानी गर्न आग्रह

प्रधानमन्त्री सुशील कोइरालाले राहत सामग्री वितरणमा अनियमितता हुन नदिन दाताहरुलाई पनि निगरानी गर्न आग्रह गरेका छन्। 
प्रधानमन्त्री निवासमा भूकम्पपीडितका लागि सहायता रकम प्रदान गर्न आएका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई आज उनले त्यस्तो आग्रह गरेका हुन्।
वसन्त चौधरी फाउन्डेसनबाट एकाउन्न लाख 
भूकम्पपीडितलाई सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा वसन्त चौधरी फाउन्डेसनअन्तर्गतका संस्थाबाट रु ५१ लाख प्राप्त भएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक मेघा चौधरीले ५१ लाखको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरिन्। 
फाउन्डेसनले नुवाकोट, धादिङ, साँखु र सिन्धुपाल्चोकका भूकम्पपीडितलाई औषधोपचार गर्नुका साथै पाल र खाद्यान्न वितरण गरेको जनाएको छ। 
जोन्सन लिफ्टको सोह्र लाख 
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भारतको चेन्नाइस्थित जोन्सन लिफ्ट प्रालिले १६ लाख, नागपोखरीस्थित मेरिक्नोल जोसेफ टेलरले १० लाख, काठमाडौँको युनिक फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स लिमिटेडले पाँच/पाँच लाख र पर्साको तेली कल्याण समाजले चार लाख एक हजार एक सय ११ प्रदान गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। रासस