वाशिंगटन डिसी – नेपाल छँदा मध्यान्ह बैण्डबाट चर्चाको शिखरमा पुगेका गायक कर्ण दास झन्डै एक दशक लामो अमेरिका बसाइँपछि नेपाल फर्कने निर्णयमा पुगेका छन्। जिन्दगीको के भरोसा यो त सानो खेलौना हो गीतका गायकले अमेरिकाबाट सदाका लागि मातृभूमि फर्किन लागेका बताएका हुन्।
अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने गायक कर्ण दासले नेपाली चलचित्रका अभिनेता सरोज खनाल अमेरिकाबाट नेपाल फर्कने भएपछि आफू पनि नेपाल फर्किने प्रतिबद्धता जनाएका हुन्।
गत जुन ७ तारिखमा डिसी महानगर क्षेत्रको भर्जिनियामा नायक सरोज खनालको बिदाई समारोहमा नायक सरोज खनालको लागि गीत गाउन आएका कर्ण दासले गीत गाउनु अगाडि भाबुक मुद्रामा अभिव्यक्ति दिँदै आफू पनि छिटै नेपाल फर्किने बताए।
‘अमेरिका छोडी नेपाल जानको लागि टिकट समेत काटेको थिएँ तर केही आफ्ना शुभ चिन्तकसँग सल्लाह गर्दा र केही कारणले टिकट रद्ध समेत गर्नु पर्योि’, गायक दासले भने।
नेपाल फर्काइको तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनले आफू काम गर्ने ठाउँमा पनि छोडेर नेपाल जाने जानकारी गराइसकेको बताए।
गायक कर्ण दासले अभिनेता सरोज खनाललाई सम्बोधन गर्दै भने, ‘सरोज दाई तपाइँ अघि जाने हुनुभयो। म पछाडि आउनेछु। नेपाल जाने विषयमा म अगाडि हुन्छु भन्ने थियो तर सरोज खनाल दाईले जित्नु भयो।’
कहिले आफू नेपाल फर्किने भन्ने उनले खुलाएनन्।
विदाइ समारोहमा गायक कर्ण दासले नायक सरोज खनाललाई समर्पित गर्दै ‘ईश्वर तैले रचेर फेरि कसरी बिगारिस’, गीत सुनाए। प्रशंसकको अनुरोधमा उनले ‘जिन्दगीको के भरोसा’ भन्ने आफ्नो गीत गाएका थिए। नागरिकन्युजमा समाचार छ ।