धादिङ, असार १ – सल्यानटारका बासिन्दाहरुलाई भुकम्पपछि खानेपानीको समस्या थपिएको छ । कतै पहिरोले पाईप बगायो भने कतै मुहान भासिसएर, मुहान सुकेर, रिजर्भ ट्याङ्की फुटेर २१ गाउँमा पानीको समस्या भएको छ । २१ बस्तीमा ८ हजार जनसंख्या रहेको सल्यानटारमा आपूर्ति हुँदै आएका ४ वटा मुहान र ट्याङ्की भासिएपछि पानी घटेको हो ।
बुढीगण्डकी र नेत्रावति (आँखु) नदिबीचको सल्यानटारका तत्कालीन १९ बस्तीहरुलाई २०३३ सालमा ८० वटा धारा दिएर आगिन्चोकबाट खानेपानी आयोजना सञ्चालन भएको थियो । अहिले बस्ती बिस्तार भएर जनसंख्या वृद्धि भइसक्दा पनि पानीको आपूर्ति भने उस्तै छ । त्यसमाथि भूकम्पपछि आएको पहिरोले पाइप बगाएपछि स्थानीयलाई संकट परेको छ ।