भूकम्पबाट क्षतिग्रस्त दोलखाका उत्तरी दुर्गम तीन गाविसका १७ वटा विद्यालय सन्चालनमा समस्या

दोलखा, आषाढ २ । भूकम्पबाट क्षतिग्रस्त दोलखाका उत्तरी दुर्गम तीन गाविसका १७ वटा विद्यालय सन्चालनमा समस्या भएको छ ।
विद्यालय सुरु भएको दुई हप्ता बितिसक्दासमेत सामान्य सरकारी सहयोगबाहेक अन्य कुनै पनि सहयोग नपाएका कारण यहाँका १७ ओटा विद्यालय सन्चालनमा कठीनाइ भएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।
सुरी गाविसस्थित एक उच्च मावि, दुई निमावि र ६ प्रावि, मार्वु गाविसका एक मावि र ३ प्रावि तथा चंखु गाविसका एक मावि, एक निमावि र २ प्रावि गरी १७ विद्यालय सन्चालन गर्न समस्या भइरहेको जिल्ला शिक्षा कार्यालय दोलखाका विद्यालय निरीक्षक शेषकान्त पौडेलले जानकारी दिए ।
वर्षा सुरु भइसक्दासमेत त्रिपालको भरमा कक्षा सन्चालन गर्नुपरेको र यस क्षेत्रको जमिन भासिएका कारण कुनै पनि बेला पहिरोको उच्च जोखिम देखिएको छ ।
पहिरो नियन्त्रण र अस्थायी आवास निर्माणमा सहयोग नभए अझै तीन महिना कक्षा सन्चालन गर्ने अवस्था नरहेको अविभावक र शिक्षकहरुले बताएका छन् ।
विद्यालयमा पठनपाठन रोकिए तीन गाविसका करिब ५ हजार विद्यार्थी प्रभावित हुने छन् । इमेजखबरमा समाचार छ ।