नवराज पथिक, अन्लाईनखबर
भुकम्पको कारण सबैभन्दा बढी प्रभावित भएको रामेछापको दुरागाउँ गाविसमा पहिरो चल्न सुरु भएको छ । तीन दिनअघि देखि पानी पर्न लागेपछि दुरागाउँगाविसमा पहिरो जान थालेको हो ।
पहिरोको कारण दुरागाउँ गाविस-१ को होपिनाका ४४ घर परिवार जोखिममा परेका छन् । माथिबाट पहिरो चल्न थालेपछि शुक्रबार विहानदेखि होपिनाबासीहरु अस्थायी टहरा छाडेर गाउँ नजिकैको सुरक्षित स्थानमा निस्किएको स्थानीय चेतबहादुर खड्काले बताए ।
गाउँको माथिबाट पहिरो खसेपछि गाउँलेहरुको भागदौड चलेको थियो । माथिबाट पहिरो आउन लागेपछि सबै जना बाहिर निस्किएका छौ । अस्थायी टहरमा समेत जानसक्ने अवस्था छैन- उनले भने ।
यसै गरी पहिरोको कारण दुरागाउँ-६ को रुपीडाँडामा पनि पहिरो चलेको छ । सो गाउँमा वस्तीको मुनि साब्राखोला तटबाट पहिरो चलेको स्थानीय शिक्षक जनार्दन घिमिरेले जानकारी दिए ।
पहिरोको कारण १७ घर परिवार जोखिममा परेको उनले बताए । पहिरो बढ्दै जाँदा सो गाविसको ६ नं र ५ नं वडाका अन्य वस्तीहरु समेत जोखिममा पर्ने अवस्था आएको घिमिरेले बताए ।
पहिरो जान थालेपछि त्यस क्षेत्रका बासिन्दा थापाडाँडा र दुरागाउँको त्रिपुरेश्वर स्कूल छेउछाउमा आएर आश्रय लिएको एमालेका गाउँ कमिटी उपाध्यक्ष शम्बर बहादुर सुनुवारले बताए ।
गएको बैशाख १२,१३ र २९ गते गएको भूकम्पको कारण रामेछापको दुरागाउँ गाविस सबैभन्दा बढी प्रभावित भएको भएको थियो । सो गाविसमा भूकम्पमा परि गाविसमा ८ जनाको मृत्यु भएको थियो ।
त्यहाँका सबै घरहरु पनि भत्किएका छन् । गाविस भरिनै जमिन ठाउँठाउँमा चिरापरेर फुटेको छ । जोखिमपूर्ण वस्तीलाई स्थानान्तरण नगरे खतरा निम्तने देखिएको छ ।
यसैबीच बैशाख महिनामा आएको विनासकारी भूकम्पको कारण रामेछाप जिल्लामा मृत्यु हुनेको संख्या ४१ पुगेको छ । जिल्लामा भूकम्पको कारण ३९ जनाको मृत्यु भएकोमा उपचारको क्रममा थप २ जनाको मृत्यु भए पछि मृतकहरुको संख्या ४१ पुगको हो ।
जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापका अनुसार उपचारको क्रममा पकरबास गाविस- ४ का ४० वषिर्य रामबहादुर मनन्धर र कुभुकास्थली गाविस-९ का ६८ वषिर्य रिकामी शेर्पाको काठमाडौँमा मृत्यु भएको छ ।