भूकम्पमा परी मुख्यालयसहित प्रहरीका १ सय ९४ भवन क्षतिग्रस्त

काठमाडौ –  नेपाल प्रहरीका मुख्यालयसहित १ सय ९४ भवन भूकम्पमा परी क्षतिग्रस्त भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुख्यालयभित्रको अपराध अनुसन्धान विभागसहितका प्रहरी कार्यालयमा क्षति पुगेको छ ।
प्राविधिक निर्देशनालयका इन्जिनियरहरूले अध्ययन गरी बस्न हुने र नहुने भवन छुट्याएको  प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीअाईजी) कमलसिंह बमले बताए । बमका अनुसार मुख्यालयबाहेक महानगरीय प्रहरी आयुक्त कार्यालय मातहतका २० भवन काम नलाग्ने भएका छन् । त्यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखा भएको हनुमानढोकास्थित भवन काम नलाग्ने भएको छ । अहिले महाशाखा र परिसरको कार्यालय टेकुस्थित साल्ट टे्रडिङ कर्पोरेसनभित्र पार्टी प्यालेसमा राखेर चलाइएको छ । सबैभन्दा बढी क्षति मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटांैडाअन्तर्गतका जिल्लामा परेको छ । त्यहाँ सयवटा प्रहरी कार्यालय भत्किएका छन् ।
सिन्धुपाल्चोक, रसुवा, काभ्रे, धादिङ, दोलखा र नुवाकोटका प्रहरीचौकीमा बढी क्षति पुगेको छ । यस्तै पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराअन्तर्गतका ३३ चौकी काम नलाग्ने गरी भत्किएका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरअन्तर्गतका ३९ चौकी भत्किएका छन् । पूर्व क्षेत्रमा भूकम्पको ठूलो असर नपरे पनि नयाँ बनेका घरमा धेरै क्षति पुगेको छ । यसरी क्षति पुगेका धेरै प्रहरी भवन उद्घाटनसमेत गरिएका छैनन् । मध्यपश्चिम क्षेत्रीय प्रहरीअन्तर्गत एउटा चौकी भत्किएको छ ।
प्रहरी मुख्यालयका अनुसार नयाँ बनेका ९७ प्रहरीचौकीमध्ये ६ चौकीमा पूर्ण क्षति पुगेको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय शान्ति कोष सचिवालय सहयोगमा निर्माण भएका प्रहरीचौकीमा समेत क्षति पुगेको छ । यसरी भत्किएका चौकीका प्रहरीहरू पालमा सञ्चालन भइरहेका छन् ।
पूर्ण क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न ५ अर्ब १२ करोड २५ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । आशिंक क्षति भएका भवन पुनर्निर्माण गर्न २८ करोड ५८ लाख ९० हजार रुपैयाँ लाग्ने अनुमान छ ।
त्यसका लागि प्रहरी प्रवक्ता बमले सरकारसँग बजेट माग्ने प्रक्रिया सुरु गरिएको बताए । उनले तत्काल मर्मतका निम्ति सरकारले ४ करोड रुपैयाँ उपलब्ध गराएको जानकारी दिए । कान्तिपुर दैनिकमा समाचार छ ।