प्रधानमन्त्री सुशील कोइरालाद्धारा आसन्न दाता सम्मेलनबारे पूर्वप्रधानमन्त्री र दलका नेताहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आसन्न दाता सम्मेलनबारे मंगलबार पूर्वप्रधानमन्त्री र दलका नेताहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरुले पुनःनिर्माणको कार्य नेपालीले नै गर्ने गरी दाताहरुबाट सहयोग मात्र लिनुपर्ने सुझाव दिएका थिए ।
उनीहरुले दाताको सहयोगमा मात्र नभइ कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउने गरी ठोस योजना बनाउन सरकारलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्रीसँगको छलफलमा एकीकृत माओवादीका नेताहरुले संसद भएकै बेलामा अध्यादेशबाट पुनःनिर्माण प्राधिकरण बनाउन नहुने भन्दै सरकारको आलोचना गरेका थिए ।
तर, सत्ताधारी दलहरुले सम्मेलन अघि नै दातालाई आश्वास्त पार्न प्राधिकरण जस्ता संरचना आवश्यक भएको भन्दै प्रस्ट पारेको अर्थमन्त्री डा.रामशरण महतले जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री महत र योजना आयोगका उपाध्यक्ष डा.गोविन्द पोखरेलले दाता सम्मेलनको तयारीबारे पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुलाई जानकारी गराएका थिए ।
सरकारले दाता सम्मेलनको तयारी पूरा भएको जनाएको छ । मंगलबार बिहानसम्म विभिन्न ५३ ओटा दातृ संस्थाका २ सय २३ जना विदेशीहरु आउने पक्का भइसकेको जनाइएको छ । इमेजखबरमा समाचार छ ।