सिन्धुपाल्चोक- महाभूकम्पबाट धाँजा र चिरैचिराले थिलथिलो उत्तर सीमानाको तातोपानीमा भीषण वर्षा भइरहेको छ। वर्षासँगै भोटेकोशी नदीको सतह बढेपछि आसपासका स्थानीय बासिन्दा आतंकित बनेका छन्। प्रहरीले बाह्रबिसे क्षेत्रसम्मका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
तातोपानीमा भीषण वर्षा भइरहेको छ, इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मन्जुल मुकारुङले भने, सम्भावित घटनाबाट जोगिन हामी पनि सतर्क छौं। उनले पहिरो गएको जानकारी प्राप्त नभए पनि खोलामा धमिलो पानी बगिरहेको बताए। आसपासका बासिन्दालाई माइकिङ गरेर सतकर्ता अपनाउन आग्रह गरिएको उनले बताए।
प्रहरीको अनुरोधसँगै स्थानीय बासिन्दा पनि सम्भावित खतराबाट जोगिन भाग्नलाई तयारी अवस्थामा छन्।
तोपानीमा सुरक्षा निकायको उपस्थिति छैन। वैशाख १२ गतेको महाभूकम्पले स्थानीय बजार नै विलय भएपछि प्रहरी युनिट चौकी डाँडामा तैनाथ भएको छ। तातोपानी बजार भने मानवविहीन अवस्थामा छ।
भूकम्पपछि सो क्षेत्रमा सुख्खा पहिरो गइरहेको छ। नदी आसपास धाँजाधाँजा परेकाले भीषण वर्षासँगै पहिरो जाने खतरा बढेको स्थानीयहरुले बताएका छन्। लार्चादेखि लिपिङ बजारसम्मका बासिन्दा राजधानी स्थानान्तरण भएपछि सो क्षेत्र मानवविहीन अवस्थामा छन्। नागरिकन्युजमा समाचार छ ।