भूकम्पपछिको उपत्यका पुनःनिर्माणबारे सरकारलाई ३३ बुँदे सुझाव

भूकम्पपछिको काठमाडौँ उपत्यकाको अवस्थामा यहाँको संरचना निर्माणबारे तत्काल ठोस पहल गर्न तीनवटै जिल्लाका सभासद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन्। 
 
सभासद् नवीन्द्रराज जोशी नेतृत्वमा १५ जना सभासद्को टोलीले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई उनकै निवास बालुवाटारमा भेटी लिखित रुपमा ३३ बुँदे ध्यानाकर्षणपत्र पेस गरेको हो। 
 
बिहिबार हुने दाता सम्मेलनमा उपत्यकाको पुनःनिर्माण गर्दा यहाँका सांस्कृतिक धरोहर सुरक्षित र सुविधा सम्पन्न बनाउनेबारे दाताहरुबीच छलफल होस् भनी सभासद्हरुले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका हुन्।
 
सभासद्हरुले उपत्यकाको विभिन्न स्थानमा गई स्थलगत निरीक्षण गरी भूकम्पपछिको विनाश र सम्भावनाबारे अध्ययन र जनतासँग छलफल गरेका थिए। 
 
अध्ययनका क्रममा अहिलेसम्म अनुमानभन्दा धेरै क्षति भएको पाइएको र प्रभावित क्षेत्रका भग्नावशेष तत्काल हटाउन आवश्यक रहेकाले त्यसका लागि तत्काल औजार तथा सामग्री उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको सभासद् नवीन्द्रराज जोशीले बताए। 
 
विकास या पुनःनिर्माणको अभियानमा सांस्कृतिक मूल्य र मान्यतालाई पनि मध्यनजर गरी एकमुष्ट रुपमा योजना तर्जुमा गरिनुपर्ने, काठमाडौँ उपत्यकाको पुनःनिर्माण र पुनःउत्थानका लागि उपत्यकालाई तीन भागमा विभाजन गरी सहरी भित्री भाग, सहरी बाहिरी भाग र पुरातात्विक सांस्कृतिक महत्वका भाग विशेष प्रकृतिअनुरुपको योजना तर्जुमा गर्न सुझाइएको छ । 
 
त्यस्तै भूकम्पबाट भत्केका या बस्न अयोग्य भएका सबै घरको पुनःनिर्माण गरिनुपर्ने हुनाले त्यस्ता सबै घरलाई राज्यले सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, काठमाडौँ उपत्यकाका घरको एकीकृत विकास गरिनुपर्ने, विकास बजेटको दुई प्रतिशत रकम सम्पदा पुनःनिर्माण र संरक्षणमा लगानी गर्ने नीति तय गरिनुपर्नेलगायत माग गरिएको छ । रासस