नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन विशिष्ट पाहुनाहरु आउने क्रम जारी

काठमाडौ – नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका क्षेत्रको भ्रमण गरेका छन् ।
बुधबार बिहान क्षतिग्रस्त हनुमान ढोका घुमाउने क्रममा विशिष्ट पाहुनालाई हेलमेट, पञ्जा, मास्क र ज्याकेट लगाई सो क्षेत्रको अवलोकन गराइएको थियो । सम्मेलनमा भाग लिन आएका ३४ जना विशिष्ट अतिथिले हनुमानढोका दरबार क्षेत्र अवलोकन गरेका थिए ।
भूकम्पले काष्ठमण्डप, भाजु देवल, नारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, शिवपार्वतीको मन्दिर, नौतलेदरबारमध्ये तीनतला, गद्दी बैठक, सिंहढोका, कागेश्वर मन्दिर, तलेजु मन्दिर, पञ्चमुखी हनुमानजस्ता जीवन्त संस्कृतिको धरोहरलाई क्षति पुर्‍याएको छ । पूर्ण क्षति नभएका संरचनालाई फलाम तथा काठको टेकाले अड्याइएको छ ।
बढो उत्सुकतापूर्वक उनीहरुले ती क्षेत्रका ऐतिहासिक महत्वका बारेमा जानकारी लिएका थिए । हनुमानढोका हेरचाह अड्डाका प्रमुख सरस्वती सिंहले विशिष्ट अतिथिलाई सो क्षेत्रको बारेमा अवगत गराएका थिए ।
श्रीलंका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजेले भूकम्पले नेपालमा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणमा सहयोग गर्न आफ्नो देश तयार रहेको बताए ।
अवलोकनमा सहभागी हुन आएका युनेस्को प्रतिनिधिमण्डलका प्रमुख क्रिस्टिन मार्टिनले यी ऐतिहासिक, पुरातात्विक स्थलको पुनःनिर्माणका लागि सहयोग गर्ने र यसका लागि क्षति मापन भइरहेको जानकारी दिए । उनले पुरातात्विक स्थलको पुनःनिर्माणका लागि विस्तृत कार्ययोजना युनेस्कोको तर्फबाट पनि बन्ने बताए ।
जापानी सहयोग नियोग जाइकाका प्रमुख डा आकिहिको तानाकाले भूकम्पले पुर्‍याएको पुनःनिर्माणका लागि आवश्यक पर्ने सहयोग प्रदान गर्न जाइका तयार रहेको बताए ।
अहिले उनीहरु भूकम्पले क्षति पुगेको काठमाडौंको पुरानो बस्ती साँखु भ्रमणमा छन् । ईकन्तिपुरमा समाचार छ ।