२६औं विश्व जनसंख्या दिवस ! नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २

नेपालको जनसंख्‍या करिव ३ करोड नजिक पुगेको छ ।  विश्व जनसंख्या दिवसको अवसर पारेर केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ पुगेको हो । राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला र पुरुष ४८ दशमलब ५ प्रतिशत छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेका छन् । विभागका उप-महानिर्देकक डा. रुद्र सुवालका अनुसार अहिले जनसंख्या वृद्धि दर १ दशमल ३५ प्रतिशत छ । 
आज (शनिबार) २६औं विश्व जनसंख्या दिवस । हरेक वर्ष ११ जुलाईका दिन विश्वभर विभिन्न कार्यक्रम गरी जनसंख्या दिवस मनाउने गरिन्छ ।
यसैसन्दर्भमा नेपालमा पनि शनिबार विभिन्न कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाइएको छ । जोखिमका जनसंख्यालाई सहयोग गरौं, विपत्मा नव निर्माणको उर्जा बनौं भन्ने नाराका साथ काठमाडौंमा विश्व जनसंख्या दिवस मनाइएको हो ।
जनसंख्या दिवसका अवसरमा गरिएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले जनसंख्या व्यवस्थापन गर्नु अहिलेको ठूलो चुनौती रहेको बताए ।
उनले बसाइँसराइको दरलाई घटाउन सकिए मात्रै जनसंख्या व्यवस्थापन गर्न सकिने बताए ।
गत वैशाख १२ गतेको भूकम्पपछि नेपालको जनसंख्या व्यवस्थापन गर्न चुनौती थपिएको भन्दै उनले युवा जनशक्तिलाई बाह्य मुलुकमा जानबाट रोक्न सरकारले विभिन्न कार्यक्रम सन्चालन गर्न लागेको जानकारी दिए ।
मन्त्री अधिकारीले मातृ र शिशु मृत्युदरलाई घटाउन सबै मिल्नुको विकल्प नभएको बताए ।
संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिलद्धारा सन् १९८९ देखि ११ जुलाईलाई जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो । यो विश्व जनसंख्या ५ अर्ब पुगेको मिति ११ जुलाई १९८७ लाई आधार मानेर तय भएको मिति हो ।
सन् २०१४ जनवरी १ सम्मको तथ्यांकअनुसार विश्वको जनसंख्या ७ अर्ब १३ करोड ७६ लाखभन्दा बढी पुगेको छ । जनसंख्या ८ अर्बको नजिक पुगे पनि पछिल्ला वर्षमा भने जनसंख्याको बृद्धिदरमा कमी आउन थालेको छ । सन् २०५० मा जनसंख्या बृद्धिदर ० दशमलव ५ माभन्दा पनि कम हुने प्रक्षेपण गरिएको छ । -इमेजखबरमा समाचार छ ।