काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शनिबार पनि व्यवस्थापिका संसदमा छलफल भएको छ ।
सत्तारुढ दलका सांसदले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलका सांसदले सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका छन् ।
छलफलमा भाग लिँदै नेकपा एमाले नेता माधवकुमार नेपालले नीति तथा कार्यक्रम केही गर्न खोजिएको जस्तो देखिए पनि सबै विषय नसमेटिएको बताए । उनले गणतन्त्रलाई संस्थागत गर्ने र महत्वपूर्ण सडक यातायातलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा नपारिएको बताए ।
एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले सरकारको नीति तथा कार्यक्रमले मुलुकलाई अगाडि बढाउन नसक्ने दाबी गरे । उनले सरकारको कार्यक्रम हेर्दा भविष्य नभइ वर्तमानलाई समेत बुझ्न नसकेको प्रस्ट हुने बताए । सरकारको नीति तथा कार्यक्रम स्वीकार्न नसकिने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका सांसद पद्मनारायण चौधरीले भने नीति तथा कार्यक्रमको बचाउ गर्दै यसले कृषि, औद्योगिक विकास, सामाजिक विकास, पर्यटन, पुनःनिर्माणलाई प्राथमिकता दिएको बताए ।
यस्तै, राप्रपा नेपालका रामकुमार सुब्बालगायत अन्य प्रतिपक्षी दलका सांसदले नीति तथा कार्यक्रमबाट सन्तुष्ट हुने अवस्था नभएको टिप्पणी गरेका छन् । इमेजखबरमा समाचार छ ।