सोलुखुम्बुका भूकम्पपीडित बिद्यार्थी छात्रवृत्ति पाउनबाट वञ्चित

सोलुखुम्बुलाई सङ्कटग्रस्त क्षेत्र घोषणा नगरिएको कारण यहाँका भूकम्पपीडित बिद्यार्थीले कक्षा ११ र १२ मा छात्रवृत्ति पाउनबाट वञ्चित भएका छन्। 
 
उच्च माध्यमिक शिक्षा परिषद्ले यो वर्ष एसएलसी उत्तीर्ण गरेका भूकम्पपीडित विद्यार्थीलाई आवाससहित निःशुल्क शिक्षाका लागि छात्रवृत्ति दिने व्यवस्था गरेको भए पनि सोलुखुम्बुका पीडित विद्यार्थी वञ्चित भएका हुन् । परिषद्ले यसअघि सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका १४ जिल्लाका विद्यार्थीलाई मात्र यस्तो छात्रवृत्ति दिने व्यवस्था गरेको छ। ती जिल्लाका निवेदन दिने सबै पीडित विद्यार्थीलाई छात्रवृत्ति दिने भन्दै आवेदन माग गरिरहँदा सोलुखुम्बुका पीडित विद्यार्थीले भने भूकम्पपीडित भएको भए पनि सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा नगरेकै कारण आफूहरु त्यस्तो सुविधाबाट वञ्चित भएको बताएका हुन्। 
 
जिल्ला दैवी प्रकोप उद्धार समिति सोलुखुम्बुको तथ्याङ्कअनुसार जिल्लाका ९० प्रतिशत घर भत्किएका छन् भने नौ हजारभन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन्। यस तथ्याङ्कलाई हेर्दा यस वर्ष एसएलसी उत्तीर्ण गरेका मध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी भूकम्पबाट पीडित भएका छन्। तथापि राज्यको सहुलियत जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा नभएकै कारण यहाँका पीडितले पाउन नसक्ने भएका हुन्। 
 
जिल्ला शिक्षा अधिकारी वीरबहादुर खड्काले उच्च माध्यमिक शिक्षा परिषद्ले १४ वटा जिल्लालाई त्यस्तो व्यवस्था गरेको भए पनि सोलुखुम्बुका त्यस्तो परिपत्र नभएको बताए। जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा नभएको कारण विद्यार्थीले पाउने यस्तो सुविधासँगै बालबालिका, महिला तथा अन्य पीडितका लागि विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाले गर्ने सहयोगबाट जिल्ला बञ्चित हुँदै आएको छ। रासस