काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा गुटैगुट भएकाले कम्युनिष्ट पार्टी भन्नै लाज लाग्ने अवस्थामा पुगेको बताएका छन ।
उनले भने- हाम्रो पार्टी कम्युनिष्ट पार्टी नै भन्न नमिल्ने जस्तै भइसकेको छ, स्थार्थै स्वार्थले भरिएको गुटजस्तो भएको छ पार्टी । भन्दै अर्का नेता बाबुराम भट्टराईलाई व्यङ्ग गरेका थिए ।
एमाओवादी पार्टी बिगि्रएको स्वीकारोक्तिसहित प्रचण्डले भने- पार्टीमा समानान्तर गुटहरु छन्, एउटा हैन, दुईवटा हैन, तीनवटा, चारवटा पनि हैन, ८/९ वटासम्म समानान्तर कमिटीहरु छन्, एउटा जिल्लामा । यसलाई करेक्सन नगर्ने हो भने पार्टीलाई विघटन हुनबाट कसैले रोक्न सक्दैन ।
बुर्जुवाहरुको भनाइ र गराइमा एकरुपता नहुने भन्दै प्रचण्डले कार्यकर्तालाई सोधे- म, बाबुरामजी र नारायणकाजीजीलाई मात्रै नसोध्नोस्, के तपाईहरुको पनि भनाइ र गराइमा एकरुपता छ ?
आफ्नो पार्टीभित्र भनाइ र गराईमा एकरुपता हुन छाडेको प्रचण्डले गुनासो गरे । उनले भने- हामी नयाँ नयाँ भन्दै हिँडेका छौं, समानान्तर कमिटी बनाइरहेका छौं । नयाँ भनेको के हो ? समानान्तर कमिटी हो ? नयाँ भनेको गुटबन्दी हो ?
डा. बाबुराम भट्टराई समूहले अघिल्लो साता काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमतर्फ लक्षित गरेजस्तो गरी प्रचण्डले भने- कार्यदिशा एउटै छ, तर गुट बनाउन छाडेका छैनौं, के हो यो ?
शान्ति प्रक्रियामा आएपछि सामन्त दलाल र बुर्जुवाहरुसँग उठबस गर्ने क्रममा आफ्नो पार्टी थाहै नपाई बुर्जुवाजस्तो बनेको प्रचण्डले दुखेसो पोखे ।
संविधानसभाबाट सिमांकनसहितको संघीयता हुने गरी संविधान जारी
एकीकृत माओवादीका शीर्ष नेताहरुले संविधानसभाबाट सिमांकनसहितको संघीयता हुने गरी संविधान जारी गर्नका लागि दबाबमुलक भूमिका खेल्न भातृसंगठनहरुलाई निर्देशन दिएका छन् ।
अखिल (क्रान्तिकारी) ले आइतबार राजधानीमा गरेको प्रशिक्षणमा माओवादी नेताहरुले संघीय प्रदेशहरुको सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्ने दवाब जायज भएको भन्दै युवा विद्यार्थीलाई त्यसका लागि दवाब दिन निर्देशन दिएका हुन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाम र सीमा बिनाको संविधान जारी गर्ने सहमति भए पनि सुझाव संकलनको बेला यस्तो दवाब आवश्यक भएको बताए ।
सोही मञ्चमा रहेका एमाओवादीका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले संघीय प्रदेशको सीमासहितको संविधान आउनु पर्ने बताए ।
उनले सिमांकनसहितको प्रदेश निर्माणका लागि जनदवाब आवश्यक भएकोमा जोड दिए ।
नेता भट्टराइले अध्यक्ष प्रचण्डतिर संकेत गर्दै नेतृत्वले ठीक समयमा ठीक निर्णय नगरेकै कारण संविधान लेखनको सन्दर्भमा काँग्रेस-एमालेको चाहनामा समर्थन जनाउनु परेको बताए ।
यस्तै, एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबैको अपनत्वको लागि संघीयताको संरचना सहितको संविधान जारी गर्नुपर्नेमा जोड दिए ।
उनले भूकम्पबाट चर्केको नेपालीहरुलाई नयाँ संविधानबाट राहत दिन खोजिएको पनि बताए । नेपाली संचारमाध्यममा समाचार छ ।