काठमाडौं – सत्तारूढ एमालेले संयुक्त सरकारको मान्यताविपरीत पूर्वाग्रही र एकपक्षीय ढंगले बजेट आएको भन्दै त्यसलाई सच्याउन प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महतसँग माग गरेको छ । आफ्ना सुुझावलाई बेवास्ता गर्दै कांग्रेसको एकलौटी सरकार जस्तो ढंगले बजेट पेस भएको पार्टीको निष्कर्ष छ । यसलाई नसच्याए पारितै गर्न नदिने पनि एमाले नेताहरूले बताएका छन् ।
बजेट पेस भएलगत्तै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महतसमक्ष आपत्ति जनाइसकेका छन् । उनले बजेटमा भएका त्रुटि सच्याउन ध्यानाकर्षण गराएका छन् । ओलीले एकलौटी खालको बजेटबारे संसदको छलफलमा आवाज उठाउन एमाले सांसदहरूलाई निर्देशनसमेत दिएका छन् ।