आषाढ ३१ । संसदले पेश्की खर्च विधेयक २०७२ पारित गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको विधेयक विहीबारको संसद बैठकबाट पारित भएको हो ।
यसअघि, बजेटमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले बजेट एकलौटी नभएको र चालु आयोजनालाई निरन्तरता दिइएको बताए । मन्त्रालयहरुको कार्यक्रम समायोजन गरेर मिलाउन नसक्दा केही कमजोरी रहन गएको उनको भनाइ थियो ।
मन्त्री महतले अन्तरमन्त्रालय समन्वय र योजना आयोगलगायतका सरोकारवाला निकायसँगको छलफलपछि बजेट ल्याइएको दाबी पनि गरे । उनले बजेटमा एमालेले उठाएका विषयलाई पनि समावेश गरिने प्रतिबद्धता जनाए ।
मध्यपहाडी लोकमार्गको नाम पुष्पलाल लोकमार्ग राख्ने झापामा राष्ट्रियस्तरको मदन भण्डारी राष्ट्रिय रंगशाला निर्माण गरिने र आफ्नो गाउँ आफैं बनाउ कार्यक्रमलाई निरन्तरता दिइने मन्त्री महतले बताए ।
विगतमा ५ खर्ब २५ करोड रुपैयाँ खर्च भएको भन्दै मन्त्री महतले ५७ प्रतिशतले बजेटमा बृद्धि गरिएको बताए । उनले ६ प्रतिशतले आर्थिकबृद्धि दर हासिल हुने दाबी गरे ।
एमालेले निरन्तरता दिन माग गरेका आयोजनाबारे सहमति जुटेपछि विहीबार साँझ मात्र संसद बैठक बसेको हो । यसअघि, दुई दलबीच कुरा नमिल्दा बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक सुरु हुन ६ घन्टा ढिला भएको थियो । इमेजखबरमा समाचार छ ।