काठमाडौं- राजधानीका प्लसटुमा उच्च शिक्षा अध्ययन गर्न चाहने उपत्यका बाहिरका विद्यार्थी अहिले धमाधम गृह जिल्लातिरै फर्कन थालेका छन्। देशभरका विभिन्न सहर र जिल्लाका विद्यार्थीले एसएलसी दिएलगत्तै काठमाडौं आएर ब्रिज कोर्सलगायत तयारी गरेका थिए। उनीहरूमध्ये कतिपयले राजधानीका राम्रा कहलिएका कलेजको प्रवेश परीक्षामा नाम निकाले पनि भर्ना नगरी गृह जिल्लातिरै फर्कन थालेका हुन्। नागरिक दैनिकमा समाचार छ ।
एसएलसीमा विशिष्ट श्रेणीमा उत्तिर्ण जनकपुरका सन्तोस साहले तीनकुनेस्थित पेन्टागन कलेजको विज्ञान संकायमा नाम निकाले। तर उनको परिवार अझै पनि भूकम्पबाट त्रसित भएकाले उनी परिवारको भनाइअनुसार जनकपुर नै फर्कन लागेका छन्।
‘मैले पेन्टानगनमा नाम निकालेँ,’ कलेजमा भेटिएका सन्तोषले भने, ‘बुबा यहाँ पढाउन सहमत भए पनि भूकम्पबाट त्रसित ममीका कारण म जनकपुर नै फर्कनु पर्ने भयो।’
विगतमा उपत्यकाबाहिरका विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि पहिलो रोजाइ काठमाडौंका प्लसटु कलेज नै बन्ने गरेका थिए। तर वैशाख १२ र २९ गतेको भूकम्पपछि अभिभावक र विद्यार्थीमा त्रास अझै कायमै छ। भूकम्प र निरन्तरका अनुकम्पनका कारण यस वर्ष उपत्यकाबाहिरका विद्यार्थी प्लसटु अध्ययन गर्न जिल्लातिरै फर्कन थालेका हुन्।
यस वर्ष विद्यार्थी जिल्लाकै कलेजमा भर्ना हुन थालेपछि उपत्यकाका निजी प्लसटुलाई भने कोटा पुर्याफउन हम्मे परेको छ। उच्च माध्यमिक विद्यालय सञ्चालक संघ नेपाल (हिसान)का उपाध्यक्ष रमेश सिलवालका अनुसार यस वर्ष उपत्यकाका निजी प्लसटुमा विद्यार्थी भर्ना १५ प्रतिशत घटेको छ। अभिभावक र विद्यार्थीमा रहेको भूकम्पको त्रास र जिल्लामा राम्रा प्लसटु खुल्न थालेपछि विद्यार्थी जिल्लातिरै फर्कन थालेको सिलवालको ठम्याई छ।
‘बाँके, रुपन्देही, कास्की, चितवन, पर्सा, धनुषा, मोरङका अधिकांश विद्यार्थीको पहिलो रोजाइ काठमाडौंका प्लसटु बन्थे,’ उपाध्यक्ष सिलवालले भने, ‘विद्यार्थी र अभिभावक भूकम्पबाट त्रसित भएका र जिल्लामा राम्रा प्लसटु खुल्न थालेकाले जिल्लाका विद्यार्थी उतै फर्के।’ उनले पहाडका विद्यार्थी पनि नजिकका जिल्लामा भर्ना भएको बताए।
पेन्टागनका प्रिन्सिपल एसपी सिंहले विद्यार्थी काठमाडौंका प्लसटुमा पढ्न चाहे पनि भूकम्पपछि अभिभावक डराएका कारण जिल्लाका अधिकाँश विद्यार्थी उतै फर्केको बताए। यस वर्ष पेन्टानगनमा विज्ञान र व्यवस्थापन संकाय गरी ८ सय ५० विद्यार्थी कोटा भए पनि थोरै मात्र विद्यार्थी भर्ना गर्न आएको सिंह बताउँछन्।
‘यसअघि कलेजमा भर्ना हुने विद्यार्थीमा उपत्यकाबाहिरका ६५ प्रतिशत हुन्थे,’ प्रिन्सिपल सिंहले भने, ‘यसपल्ट जिल्लाका २५ प्रतिशत विद्यार्थी आएनन्।’ उनले उपत्यकाका विद्यार्थी भने बढेको बताए।
यसैगरी बत्तीसपुतलीस्थित गोल्डेनगेट कलेजमा यस वर्ष विज्ञान, व्यवस्थापन र मानविकी गरी संकायमा १२ सय ९० विद्यार्थी कोटा छ। प्रवेश परीक्षा लिइसकेको कलेजमा भर्ना हुने क्रम जारी छ। तर गत वर्षको तुलनामा विद्यार्थी संख्या यसपल्ट घटेको कलेजप्रमुख रमेश सिलवालले जनाए। हिसानका उपाध्यक्षसमेत उनले गत वर्षसम्म चितवनका विद्यार्थी आफ्नो कलेजमा धेरै भर्ना हुने गरेकोमा यस वर्ष ह्वात्तै घटेको उनले बताए।
कालोपुलस्थित जेभियर इन्टरनेसनलमा विज्ञान, व्यवस्थापन र मानविकी गरी ६ सय ८० विद्यार्थी कोटा भए पनि अहिलेसम्म ३ सय ५० विद्यार्थी मात्र भर्ना भएको कलेजप्रमुख तथा हिसानका सचिव लोकबहादुर भण्डारीले बताए। ‘भूकम्पपछि उपत्यकामा सुरक्षित डेराको समस्या थपिएको छ,’ उनले भने, ‘बुटवल, पोखरा र चितवनलगायत ठाउँमा राम्रा प्लसटु खुलेकाले राजधानीमा विद्यार्थी घटेका हुन्।’ उनले करिब २० प्रतिशत विद्यार्थी भर्ना कम भएको बताए।
मिनभवनस्थित भिएस निकेतन उमाविमा यस वर्ष विज्ञान र व्यवस्थापन गरी ५ सय ६० विद्यार्थी कोटामा ३ सय मात्र भर्ना भएको संस्थापक बाबुराम पोखरेलले जनाए। हिसानका वरिष्ठ सल्लाहकार तथा सभासद पोखरेलले विद्यार्थी भर्ना बढाउन उपत्यकाका प्लसटुले दुई/तीन पल्ट पनि प्रवेश परीक्षा लिएको बताए। ‘व्यवस्थापन र मानविकीका विद्यार्थी बुटवल, धनगढी, कैलाली, नेपालगञ्ज, दाङ, सुर्खेत, कञ्चनपुर, वीरगञ्ज, सुनसरी, जनकपुरलगायत ठाउँमा भर्ना भए,’ उनले भने, ‘स्थापितभन्दा पनि नयाँ प्लसटुमा भर्नाको चुनौति बढेको छ।’ भिएसले पनि शुक्रबार दोस्रोपल्ट प्रवेश परीक्षा लिएको छ।
उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार अहिले देशभर ३६ सय ५८ उमावि सञ्चालनमा छन्। तीमध्ये २६ सय ७९ सामुदायिक र ६ सय ८४ निजी छन्। यसैगरी जिरो प्लसटु १ सय ६९ छन् भने कलेज सञ्चालित प्लसटु १ सय ३६ छन्। निजी प्लसटुमध्ये भूकम्पबाट करिब ३ सय क्षतिग्रस्त छन्। उपत्यकामा मात्र १ सय निजी प्लसटु क्षतिग्रस्त भएको हिसानले जनाएको छ। ‘जिल्लामा समेत परिषद्ले विज्ञानसहित प्लसटु खोलेको छ,’ परिषदका उपाध्यक्ष चैतन्य शर्माले भने, ‘भूकम्पमा उपत्यकाका घर भत्के/चर्केकाले विद्यार्थीका लागि डेरा मुख्य समस्या भएकाले पनि विद्यार्थी जिल्लातिरै फर्के।’ नागरिक दैनिकमा समाचार छ ।